५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

संरक्षण पछि अशोक स्तम्भ मनमोहन देखियो



मायादेवी अनलाइन, तौलिहवा ।
कनकमुनी बुद्धको जन्मथलोका रुपमा मानिएको अशोक स्तम्भको संरक्षण गरिएको छ । कपिलवस्तु नगरपालिका– ९ स्थित अशोक स्तम्भको लुम्बिनी बिकास कोषले संरक्षण गरेको हो । कोषले ३० लाख बढी बजेट खर्च गरेर स्तम्भको संरक्षण सहीत सुन्दरीकरण गरेको छ । यो स्तम्भ तीन दशक देखि जीर्ण जस्तै थियो । अहिले स्तम्भ हेर्दा मनमोहन देखिन्छ । गौतम बुद्ध भन्दा अघिका कनकमुनी बुद्धको जन्मथलोको प्रमाण स्वरुप सम्राट अशोकले त्यहाँ स्तम्भ गाडेका थिए । ६ मिटर लामो, ४ मिटर चौडा र ८ मिटर उचो सेड बनाई लडेर र भुईमा गडेर रहेको अशोक स्तम्भलाई सुरक्षित गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । ‘हामीले अशोक स्तम्भलाई सुरक्षित राख्न संरक्षण र सुन्दरीकरण गरेका छौ’ उनले भने ।

सेड (छाप्रो) को माथी भिरालो परम्परागत शैलीमा माटोको टायलको छाना राखिएकोछ । भारतको राजस्थानबाट ल्याईएको चिल्लो टायलले प्राचीन अवस्थाकै संरचनाको झल्को दिएकोछ । सेडलाई तीन तिरबाट चाईनिज ईटाको आधि पर्खाल र आधि ग्रील लगाएर सुरक्षित पारिएको छ । पश्चिम तिरको प्रवेशद्वार, २ वटा झ्याल बाहेकका ठाउँमा पुरै पर्खाल लगाईएकोछ । काठको प्रवेशद्वार र झ्यालमा बौद्ध साहित्य र परम्पराको महत्व उजागर गरिएकोछ । प्रवेशद्वारको दुबै ढोकामा बडो कलात्मक ढंगले भगवान गौतम बुद्धको खुट्टादेखि टाउको सम्म कुदिएको छ । ढोकाको फ्रेम र झ्यालमा पनि उस्तै कलात्मक सृजना देखाईएकोछ । अशोक स्तम्ब दर्शन गर्न जानेलार्ई सुरुमा भगवान गौतम बुद्धले वरद आसनमा सबैलाई आर्शिवाद दिएको तस्विर ढोकामा राखिए पछि निक्कै आकर्षक देखिएको छ । ढोकामा भगवान गौतम बुद्ध उभिएर एउटा हातमा भिक्षा पात्र र अर्कोले आर्शिवाद दिएको अवस्था काठको कलामा राम्ररी देखाईएकोछ । अशोक स्तम्भ संगै रहेको पक्की सेड सहितको कनकमुनी बुद्धको मुर्तिलाई घेरेर चारैतिरबाट पर्खाल पनि लगाईएकोछ । सेड भित्र र बाहिर भुईमा टेराकोटा टायर लगाएर चिरिच्याट्ट बनाईएकोछ । ‘पुरातात्विक मुल्य मान्यतालाई पुरै ध्यान लिएका छौं’ लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले भने, ‘पछि अध्ययन र अन्वेषणको आवश्यकता भयो भने क्षति नपु¥याई पार्टपार्ट निकाल्न मिल्छ ।’

नव निर्मित सेड र कनकमुनी बुद्धको मुर्ति राखिएको सेडलाई समेत गेरु रंगले रंग्याईएकोछ । तौलिहवा–जीतपुर सडक खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रंग लगाए पछि सबैको ध्यान तान्न थालेकोछ । परबाटै हेरुहेरु जस्तो गरेर चिटिक्क सजिएकोछ । निग्लिहवाको संरक्षण गर्न कोषले ३ जना सुरक्षा गार्ड पनि राखेकोछ । उनीहरु दिनरात डियुटीमा खटिन्छन । संरक्षण गरेसंगै आकर्षण बढेको छ । ‘यहाँ आउने स्वदेशी विदेशी पर्यटक बढ्न थालेका छन्’ सुरक्षागार्ड राजेश यादवले भने । कोषले गार्ड बस्ने भवन पनि मर्मत गरेको छ । त्यस्तै पर्यटकका लागि पनि शौचालय बनाईएकोछ । सदरमुकाम तौलिहवा देखि ७ किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित छ । लामो खण्ड जमिनमा पसारिएको छ भने सानो खण्ड तेर्सो परेर जमिनमा गडेको छ । लामो टुक्रा १५ फिट लामो र त्यसको परिधि बढीमा ७ फीट ५ इञ्च छ । यस खण्डको शिखर पट्टी दुई वटा मुजुरका डिजाइन र देवनागरी लिपीमा “ॐ मणि पद्मे हुं रिपू मल्लस्य चीर जयतु १२३४” वाक्य कुंदिएको छ । त्यसैले यहाँ कर्णाली प्रदेशका राजा रिपुमल्ल आएका थिए भन्ने पनि बुझिन्छ ।

त्यसैगरी लम्बाई ५ फीट र परिधि ७ फिट ५ इञ्च भएको जमिनमा गडेर रहेको सानो खण्डमा ब्राह्रमी लिपिमा कुंदिएको चार पंक्तीको अशोक अभिलेख छ । उक्त अभिलेखले सम्राट अशोक राजा भएको २० औं वर्ष पछि यहाँ कनकमुनि बुद्धको जन्मस्थल आई पूजाआजा गरी यो स्तम्भ स्थापित गरेका थिए भन्ने कुरा बताउँछ । शुरुमा सन् १९८९ मा पहिलो पटक कोषका पुरातत्वविद् वसन्त बिडारीले निग्लिहवाको अशोक स्तम्भको संरक्षण गरेका थिए । त्यसपछिबाट अहिले संरक्षण गरिएको हो । निगालीसागर पोखरीमा लडेर अलपत्र परेको अशोक स्तम्भलाई क्रेन लगाएर उठाएर ल्याई अहिले रहेको ठाउमा संरक्षण गरिएको हो । कनकमुनी बुद्ध भगवान गौतम बुद्ध भन्दा पहिलेका आदी बुद्ध मानिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७५ शनिबार ००:००  ३ : ११ बजे