गणेश बेल्बासे, अर्घाखाँची ।
शिक्षामा गुणस्तर वृद्धिको लागि भन्दै बालविकास तह देखि अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरी वडा नं.९ ले एक नमुना कार्य सुरु गरेको छ । वडा नं.९ लाई शैक्षिक धरोहरको रुपमा स्थापित गर्न भन्दै यो कार्य सुरु गरेको वडा नं.९ का वडा अध्यक्ष भिम केसीले बताउनुभयो ।
९ नं. वडा कार्यालयको आयोजना र पाँकुरी आधारभूत विद्यालयको समन्वयमा यही वैशाख २५ गते मंगलबारका दिन भएको बालविकासका सहयोगी कार्यकर्तालाई अंग्रेजी माध्यममा शिक्षण सम्बन्धी अभिमूखीकरण तथा पुस्तक वितरण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यालयमा स्वतः आकर्षण बढाउन यो कार्य सुरु गरेको उहाँले तर्क राख्नुभयो । बोडिङमा पढाउने बढ्दो फेसनलाई न्यूनिकरण गर्दै सामूदायिक विद्यालयहरुको शैक्षिक वातावरणलाई अंग्रेजीमय र बालमैत्री बनाउन सम्बन्धित विद्यालयका प्रअ, शिक्षक र सकाहरुले विशेष ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
वडाक्षेत्रका सम्पूर्ण विद्यालयको अनुगमन गरी वास्तविक समस्यालाई मध्यनजर गर्दै बालिकासको कक्षा व्यवस्थापनको कार्यलाई आगामी बजेटमा सम्बोधन गर्ने अध्यक्ष केसीले विश्वास व्यक्त गर्नुभयो । केसीले शैक्षिक गुणस्तर वृद्धिका लागि शिशु कक्षा देखि अंग्रेजी माध्यममा शिक्षण गर्नुपर्ने, अतिरिक्त कार्यक्रम तथा सरसफाईलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । व्यवहारिक शिक्षामा जोड दिंदै अब शिक्षामा सामाजिक, शैक्षिक र आर्थिक परिवर्तनको खाँचो रहेको उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा वडा नं. ९ अन्तर्गतका १० विद्यालयका बालविकास तहमा कार्यरत सका लगाएत अंग्रेजी माध्यममा कक्षा १ सञ्चालन भएका पाँकुरी आ.वि.र शंकर ज्योती आ.वि. का कक्षा १ को कक्षा शिक्षकहरुको पनि उपस्थित रहेको थियो । सोही कार्यक्रममा सबै बालविकास तहका सकाहरुले वडासगँ प्रतिबद्धता समेत गरेका छन् ।
वडा नं.९ का विद्यालयमा शैक्षिक सत्र २०७५ मा भर्ना भएका बालविकास तहका ११५ बालबालिकाहरुलाई वितरण गर्नका लागि सकाहरूलाई अल इन वन पुस्तक समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष भिम केसीको अध्यक्षता लिडर प्रअ गणेश बेल्बासेको सञ्चालन तथा प्रशिक्षण र स्रोत व्यक्तिको सहजीकरणमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया