मायादेवी अनलाइन, बुटवल ।
समुदायको पहलमा रुपन्देहीको सैनामैना नगरपालिका वनकट्टामा बनाउन थालिएको प्राकृतिक चिकित्सा केन्द्रका भवन निर्माणमा वजेट अभाव भएको छ ।
सैनामैनाको चारपालास्थित साढे ४ हेक्टर जग्गामा १० वटा ब्लक सहित एक सय शैयाको तीनतले चिकित्सा केन्द्र बनाउने लक्ष्यसहित तीन वर्षअघि १४ करोड लागत अनुमान गरी काम शुरु भएकोमा वजेट अभावले भवन निर्माण पूरा हुन सकेको छैन ।
नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकितसा केन्द्रले २०७१ सालमा महायज्ञ गरेर वचत भएको ५ करोड रुपैयां केन्द्रको भुई तला बनाउनमै खर्च भएपछि बाँकी संरचना बनाउन वजेट अभाव भएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराई बताउँनुहुन्छ ।
बजेट अभावले संचालनमा आउन ढिलाई भएको जानकारी दिन केन्द्रले प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,सैनामैना नगरपालिका प्रमुख चित्र कार्की, प्रदेश सभा सदस्य तुलाराम घर्ती, डा. कृष्ण न्यौपाने लगायतलाई केन्द्रको निर्माणाधीन भवनको अवलोकन गराएको छ । स्थलगत अवलोकन पछि आयोजित अन्तरक्रियामा मन्त्री गिरीले प्राकृतिक चिकित्सा उपचार पद्दतिलाई पनि राज्यले प्राथमिकता दिनुपर्ने धारणा राख्दै केन्द्र निर्माणमा प्रदेश सरकारले यथोचित वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपालमा सामुदायिक स्तरबाट नवलपरासीको रजहरमा प्राकृतिक चिकित्सालय संचालनमा छ । बुटवलको ढवाहामा पनि सात करोड लगानीमा नीजि क्षेत्रबाट दुई साता अघिदेखि प्राकृतिक चिकित्सा अस्पताल संचालनमा आएको छ ।
प्रतिक्रिया