मायादेवी अनलाइन, भैरहवा ।
रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले शिक्षा क्षेत्रमा पारदर्शिता हुनु पर्ने बताउनुभएको छ । शुद्धोधन गाउँपालिकाको आयोजनामा फर्साटिरमा आयोजित जनप्रतिनिधि र सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं व्यवस्थापन समितिका अध्यक्ष बीचको शैक्षिक अन्तरक्रियामा बोल्दै भुसालले संस्थागत र सामुदायिक विद्यालय बीचको खाडल घटाउन पहिला शिक्षा क्षेत्रको अपारदर्शितालाई हटाउनु पर्ने बताउनुभयो ।
कुनै विद्यालयमा पनि पारदर्शिता नभएकोले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन विद्यालय सुधार गर्न सबैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले संविधानले शिक्षा क्षेत्रको अधिकार स्थानीय तहमा हस्तान्तरण गरेकाले अब पनि सामुदायिक विद्यालयको स्तर उन्नती हुँदैनकी भनेर आशंका गर्न नहुने बताउनुभयो ।
एमाले उपमहासचिव समेत रहनुभएका भुसालले यस क्षेत्रको शैक्षिक गुणस्तर सुधार्न, प्राविधिक कक्षाहरु संचालन गर्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले अबको शिक्षा प्रतिस्पर्धी हुनु पर्ने बताउँदै शिक्षकलाई तालिम, नयाँनयाँ प्रविधिको विकास, भौतिक संरचनाको पर्याप्त निर्माण गरी संस्थागत विद्यालयसँग प्रतिस्पर्धी विद्यार्थीहरु उत्पादन गर्न सक्नु पर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले गाउँपालिकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउँदै भौतिक संरचना निर्माणमा विशेष जोड दिनु पर्ने बताउनुभयो । यस्तै शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।
प्रतिक्रिया