८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्छ – ओली



काठमाडौं, ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्ने बताउनु भएको छ । एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसमा सानेपामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताउनु भएको हो ।
उहाँले पुष्पलाल, मनमोहन र मदन भण्डारीको पथलाई नअंगालिकन कम्युनिष्ट बन्नै नसकिने धारणा राख्नुभयो । मनमोहन अधिकारीको चाहना सबल एकीकृत पार्टी बनाउनु भएकाले एमाले त्यही पथमा जुटेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्र्नुभयो ।
उहाँले माऔवादी केन्द्रसँग पार्टी एकता नहुने हो कि भन्ने आशंका नगर्न पनि आग्रह गर्नु भयो । ढिलो चाँडो पार्टी एकता हुने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । उहाँले दुई पार्टी मिलेर राष्ट्रिय हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
एमालेले पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गर्दैछ । विक्रम संवत १९७८ सालमा काठमाडौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो । भारत छोड आन्दोलनको क्रममा उहाँ बनारस जेल पर्नुभएको थियो । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो । २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो ।
लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो । उहाँ नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५ बिहिबार ००:००  ६ : ४५ बजे