८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिवराजलाई शैक्षिक धरोहर बनाउन जोड



सीताराम चौधरी, कपिलवस्तु ।
शिवराज नगरपालिकालाई शैक्षिक धरोहरको रुपमा स्थापित गर्न भर्ना अभियानलाई तीब्र बनाउनुपर्ने नगरस्तरीय अनुगमन समिति संयोजक एवं नगर उपप्रमुख शिवकुमारी थारुले जोड दिएकी छन् ।
विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउन सबैलाई अभियानमा लाग्नुपर्ने अपिल गरेकी हुन् । आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरी अभियान आफैंबाट शुरुवात गर्नुपर्ने समेत उपप्रमुख थारुले विचार व्यक्त गरिन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भएमा विद्यार्थीको स्वतः आकर्षण बढ्ने उनले तर्क दिइन् । भर्ना अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरुको पनि प्रत्यक्ष सहभागिता रहने उपप्रमुख थारुले बताइन् । बालश्रम, बालविवाह एवं विद्यालयको वातावरण छात्रामैत्री नहुँदा भर्ना अभियान सतप्रतिशत हुन नसकेको बताउँदै यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनले सुझाव राखिन् ।
कार्यक्रममा अध्यक्षताको आसनबाट बोल्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले विद्यार्थी भर्ना अभियान न्यूनीकरण मात्र होइन शून्य (०) मा झार्ने दाबी गरे । नगरक्षेत्रका सम्पूर्ण विद्यालयको अनुगमन गरी वास्तविक समस्यालाई मध्यनजर गर्दै समाधान गर्ने सिस्टमको विकास गर्ने नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गरे । नगरप्रमुख अधिकारीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरसफाईलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । आयमूलक, ज्ञानमूलक र व्यवहारिक शिक्षामा जोड दिंदै अब शिक्षामा सामाजिक, शैक्षिक र आर्थिक परिवर्तनको खाँचो रहेको जिकिर गरे ।
“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा«” यस वर्षको शिक्षाको मूल नारा सहित विद्यार्थी अभियानमा सबैलाई सक्रिय भएर लाग्न स्रोतव्यक्ति देवेश प्रताप सिंहले अपिल गरे । अभियानबारे जानकारी दिंदै स्रोतव्यक्ति सिंहले भर्ना अभियान बैशाख २ गतेबाट शुरु भएको बताए । उनले भने– “बैशाख १४ सम्म विद्यालयमा भर्ना गर्ने र बैशाख १५ देखि ३० गतेसम्म घरदैलो गरी छुटेका बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउन पहल गर्नुपर्छ ।”
शिवराज नगरक्षेत्रभित्र अझै ११४ बालबालिका विद्यालय पहुँचबाट टाढा रहेकाले घरघरमा पुगी भर्ना अभियानलाई सफल बनाउन शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले सुझाव दिए । शिवराज नगरपालिकालाई पूर्ण विद्यालय भर्ना नगरपालिका बनाउन विद्यालय भर्ना अभियानमा विद्यालयका शिक्षक, जनप्रतिनिधिहरु सक्रिय भई लाग्नुपर्ने बताए ।
नगरलाई पूर्ण विद्यालय भर्ना बनाउन विद्यालयको आफ्नो क्षेत्रभित्रका घरधुरीहरुको सर्वेक्षण गर्ने, विद्यालयमा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्ने, पाठ्यपुस्तक वितरण गर्ने जस्ता कार्यहरु गर्नु पर्ने उनले बताए । कार्यक्रममा बोल्दै उनले भने –“विद्यालय भर्ना पछि ३० प्रतिशत बालबालिकाले विद्यालय बीचमा छाड्ने भएको हुँदा भर्ना गरेर मात्रै नहुने विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न विद्यालयले रचनात्मक कार्यक्रमहरु गर्नुपर्छ । आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकलाई स्थानीय तहबाट पाइने सेवासुविधा रोक्का गरिने हुँदा सबै अभिभावकले अनिवार्य आफ्ना बालबालिकालाई पढ्न विद्यालय भर्ना गर्नु पर्छ ।”
अभिमुखीकरणमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थी भर्ना गरेर मात्रै नहुने विद्यार्थीको सिकाइमा गुणस्तर वृद्धि, आवश्यक भौतिक संरचना, दक्ष जनशक्ति लगानी जस्ता कुरामा नगरपालिकाले ध्यान दिनुपर्ने जोड दिएका थिए । देशभरि ४ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको र यस नगरपालिकामा पनि विद्यार्थीहरु अझै पनि विद्यालय पहँुचभन्दा बाहिर रहेकाले उनीहरुलाई विद्यालय भर्ना अभियान मार्फत विद्यालयमा भर्ना गर्नु पर्नेमा शिक्षा शाखा प्रमुख वि.क.ले जोड दिए ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनको सहयोग तथा शिवराज नगरपालिकाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भर्ना अभियान सफल बनाउन तीन अनुगमन समिति गठन

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिवराज नगरपालिकामा तीनवटा अनुगमन समिति गठन गरिएको छ ।
गाउँदेखि नगरसम्मका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शैक्षिक स्तरमा सुधार ल्याउन नगर स्तरीय, वडास्तरीय र विद्यालयस्तरीय गरी तीनवटा अनुगमन समिति गठन गरिएको हो । शिवराज नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुको अनुगमनलाई प्रभावकारी बनाउन उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा ६सदस्यीय नगरस्तरीय अनुगमन समिति गठन गरिएको छ । जसका सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, सामाजिक समिति प्रमुख चन्द्रबहादुर गहतराज, शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्मा, स्रोतव्यक्ति देवेश प्रताप सिंह र कालिका सामाजिक विकास केन्द्र चन्द्रौटा शाखा प्रमुख अजय चौधरी रहेका छन् ।
वडाध्यक्षको संयोकत्वमा वडास्तरीय अनुगमन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा निर्वाचित वडा सदस्यहरु, वडास्तरमा कार्यरत कालिका स्वावलम्बन सामाजिक केन्द्रका सामाजिक परिचालक तथा वडास्तरका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् ।
यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष संयोजक रहेको विद्यालय स्तरीय अनुगमन समिति गठन गरिएको छ । जसमा शिक्षक अभिभावक संघका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरु सदस्य रहने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७५ मंगलबार ००:००  १ : ४३ बजे