८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तरकारी खेतीमा नमूना बन्दै पाल



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा न.५ डालपुरका जगरनाथ पाल तरकारी खेतीबाटै परिवार धानेका छन् । ४२ वर्षे पाल ९ कठ्ठामा तरकारी खेती गरी ७ जनाको परिवार पाल्दै आएका हुन् । गरीबीका कारण पढ्न नपाएका पाल १० वर्षको उमेरदेखि नै परम्परागत खेती गर्दै आएका छन् । पारिवारिक बन्धनमा बाँधिएपछि उनी व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका छन् । आफूले पढ्न नपाएनि छोराछोरीलाई नजिकैको शिव माध्यमिक विद्यालयमा पढाइरहेको उनी बताउँछन् ।


चार वर्षअघि रुपन्देहीको खुरदवानगर गा.वि.स.–९, लकडीगढवा गाउँवाट बसाई सरी आएका पालको सपरिवार अहिले डालपुरमा तरकारी खेतीमै रमाएका छन् । डालपुरका बासिदा अहिलेसम्म धान, गहुँ खेतीमा मात्र निर्भर रहेको साथै खेत बाँझै राखेर कामको खोजीमा ज्याला मजदुरी गर्ने गरेपनि पाल भने व्यवसायिक तरकारी खेतमा लागेर नमूना कृषकको उदाहरण बनेका छन् ।
उनले तरकारी खेती गरेको देखेर पछिल्लो समय त्यहाँका बासिन्दा पनि विस्तारै त्यसतर्फ आकर्षिक बनेको स्थानीय शंकर विकले बताए । मिहिनेतको फल मिठो हुन्छ भनेझैं उनको मिहिनेत र परिश्रमले यतिबेला बाँझो खेत हरियालीमा परिणत भएको छ । उनले तरकारी फलाएको देखेर छिमेकीहरु पनि उनको सिको गर्न थालेका छन् ।
उत्पादन गरेको तरकारी साप्ताहिक हाटबजार चन्द्रौटा, शिवपुर, गोरसिङ्गे, इमलियाँ, बहादुगंज, कृष्णनगर, जितपुर चार नम्बरका साथै मुर्गियासम्म पुगी बेच्ने गरेको उनी बताउँछन् । बेमौसमी तरकारी खेतीबारे तालिम पाएका उनले यतिबेला आफ्नो खेतमा काँव्रmो, बोडी, फर्सी, टमाटर, खुर्सानी लटरम्म फलाएको देख्न सकिन्छ । तरकारी बिक्रीबाट वार्षिक ३ देखि ४ लाखको आम्दानी गर्ने गरेको उनले बताए । डालपुर गाउँमा उनीसँगै अहिले १५ घरपरिवार तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् ।
कालिका स्वालम्वन सामाजिक संस्थाले डालपुरमा वि.स.२०७३ सालमा नौलो तरकारी उत्पादन समूह गठन गरेको छ । पाल पनि सोही समूहमा आबद्घ भई अहिले आधुनिक तरकारी खेतीतर्फ आकर्षित बनेका छन् । उनले अहिले तरकारी खेतीसम्बन्धी विभिन्न तालिम लिइसकेका छन् । संस्थाले सामुहिक बोरिङ्ग जडान गरिदिएको छ । समूहका प्रत्येक सदस्यलाई पानी सिचार्इंका लागि हजारी, बीउ–बिजन, विषादी तथा स्प्रे–ट्यांकी उपलब्ध गराएको समूहका सदस्य बताउँछन् । तर विजयनगर गाउँपालिकाको कृषि शाखामा धाएपनि आफुलाई बेवास्ता गरेको समूहका सदस्यहरुले गुनासो गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७४ बिहिबार ००:००  १२ : ५७ बजे