८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी युवाको काधमा: पूर्व प्रम खनाल



मायादेवी अनलाइन, काठमाण्डौं ।
सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताउनु भएको छ । वरिष्ठ नेता खनालले मुलुकलाई आर्थिक रुपले सम्मुन्नत बनाउन युवा जनशक्ति निर्माणमा ध्यान दिन सरकारलाई पनि सुझाव दिनु भयो ।
आइतबार युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले युवा जनशक्ति मुलुक निर्माणको मूल आधार भएको उल्लेख गर्दै त्यसको उचित परिचालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउने प्राकृतिक स्रोतहरु यथेष्ट भएपनि त्यसलाई परिचालन गर्ने जनशक्ति नभएकै कारण मुलुकमा गरिवी कायमै रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले उत्पादनमूलक क्षेत्रमा काम गरेर अघि बढनुपर्नेमा पनि जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुक निर्माणको जिम्मेवारी युवाहरुले लिनुपर्ने धारणा राख्नु भयो । उहाँले सरकारको मार्ग निर्देशनमा मुलुकलाई समृद्ध बनाउने काम युवाहरुले गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । पूर्व उर्जामन्त्री समेत रहनु भएका उहाँले जलविद्युत उत्पादन गरेर मात्रै पनि मुलुकमा विद्यमान व्यापार घाटा तत्काल हटाउन सकिने पनि उल्लेख गर्नु भयो ।
नेता शर्माले मुलुक नयाँ युगमा प्रवेश गरेकाले सोही अनुसारको नीति तथा योजना तय गर्न सरकारलाई सुझाव दिनु भयो ।

प्रकाशित मिति : १८ चैत्र २०७४ आइतबार ००:००  २ : ५८ बजे