४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सडक विस्तारमा सरकारले गरेको दमन प्रति नेकपाको बिरोध



इमरान खान, काठमाडौ ।
सडक बिस्तारको सन्दर्भमा बर्तमान बाम गठबन्धन सरकारले जनताका पीरमर्का र वास्तविकता नबुझि बहुमतको नाममा उपत्यकाबासी जनतालाई जबर्जस्ती पेल्न र दमन गर्न थालेको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस बिषयमा एक बक्तब्य निकाल्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुबेदीले भनेका छन — ‘यही २०७४ चैत्र १४ गतेका दिन सडक बिस्तार, द्रुत मार्ग, बाहिरी चक्रपथ निर्माणका सन्दर्भमा पीडा र मार्कामा परेका जनताहरु बिरोध प्रदर्शनमा उत्रिन बाध्य हुँदा सरकारले प्रहरी लगाएर प्रदर्शनकारीहरु माथि जथाभावी अश्रुग्यास, लाठी र पानीको फोहोरा बर्षाएर दमनकारी चरित्रको प्रदर्शन गरेकोमा नेपाल कम्युनिष्ट पार्टी त्यसको घोर बिरोध र भत्र्सना गर्दछ ।’
प्रदर्शनमा उत्रिएका पीडित उपत्यकाबासीहरुले ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुको पहिचालनलाई रक्षा गरिनुपर्ने, जनतालाई बिस्थापित तुल्याउने गरी बनाइएको पञ्चायतकालीन प्रकृतिको मापदण्डलाई खारेज गरिनु पर्ने, संबिधानको धारा २४ र ३७ बिपरीत हुने गरी पीडित र प्रभावित परिवारसँग कुनै मञ्जुरी नै नलिई सकड बिस्तार गर्न र नागरिकलाई दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न माग गर्दा शान्तिपूर्ण बिरोध प्रदर्शनको सम्मान गर्दै बार्तामा बोलाएर समस्या समाधान गर्नुको साटो बाम सरकारले जनतालाई दमन गर्ने जुन कार्य गरेको छ त्यो अत्यन्तै निन्दनीय छ – बक्तब्यमा भनिएको छ ।
खासगरी सडक बिस्तारको नाममा बिना मुआब्जा जनताको ब्यक्तिगत सम्पत्ति हडप्ने काम तुरुन्त रोक्न र उनीहरुको मञ्जुरीमा नियमपूर्वक क्षतिपूर्ति दिने प्रष्ट बैकल्पिक ब्यबस्था गरेर मात्र सडक बिस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  ८ : १५ बजे