दीपा महत, गजेहडा ।
कुष्ठरोग निवारण सम्बन्धि जनप्रतिनिधिहरुका लागि परिचयात्मक कार्यक्रम शुक्रबार नगरपालिकाको हलमा सम्पन्न भएको छ । वाणगंगा नगरपालिकामा भएको उक्त कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधिहरुलाई कुष्ठरोग के हो ? यो कसरी लाग्दछ ? बच्ने उपाय के हुन ? भन्ने बारे जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मंगलप्रसाद थारुले यहि चैत्र १९ र २० गते हुने कुष्ठरोग विरुद्धको महाअभियानलाई सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले नगरलाई कुष्ठरोग मुक्त पार्नको लागि आफुहरु पनि खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य फोकल पर्सन कमल ज्ञवालीले कुष्ठरोगको परिचय, सर्ने तरिका, लक्षणहरुहरुको बारेमा जानकारी गराउनु भएको थियो । साथै यो रोग पूर्नर जन्मको पाप नभई जिवाणुबाट मानिसमा लाग्ने रोग भएकाले अन्धविश्वासमा नलाग्न आग्रह गर्नुभयो ।
कुष्ठरोगको समयमा उपचार गरेमा निराकरण गर्न सकिने उहाँले बताउनुभयो । यसैगरी स्वास्थ्य संयोजक कृष्ण घिमिरेले कार्यक्रमको सहजीकरण गर्दै वाणगंगा नगरपालिकालाई कुष्ठरोग मुक्त नगरपालिका बनाउन सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले यहि चैत्र १९ र २० गते सम्भावित कुष्ठरोगीलाई स्वास्थ्य संस्थामा जान आग्रह गर्नु भएको छ ।
वाणगंगा नगरपालिकामा हाल २५ जना कुष्ठरोगका बिरामी रहेकोमा महिला १० जना र पुरुष १५ जना कुष्ठरोगका बिरामी रहेका छन् । कुष्ठरोग घना बस्ती भएको ठाउँमा, संक्रमितको परिवारलाई, संक्रमित संग एक हप्तामा २० घण्टा संगै बसेमा यो सर्ने सम्भावना बढी हुन्छ । नगरपालिका भित्र लुकेर रहेका विरामीको पहिचान गरी उपचारमा ल्याउने उद्देश्यले यहि चैत्र १९ र २० गते महाअभियान संचालन गरिदै छ ।
त्यसका लागी काठमाण्डौको आनन्दबन अस्पतालबाट डाक्टर आउने छन् । कार्यक्रममा सामाजिक समितीका सभापति भिष्मराज भुषालले मन्तब्य राख्नु भएको थियो । नगरका निमित्त प्रशासकीय प्रमुख, सम्पूर्ण वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
१६ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया