सीताराम चौधरी, कृष्णनगर ।
भन्सार छलेर भारतबाट नेपाल भित्रिएको लु २ त ११७० नम्बरको ट्रेक्टर सामान सहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट चेकजाँचमा खटिएको प्रहरी गस्ती टोलीले कृष्णनगर६, बन्चौरा नाकाबाट सामानसहित ट्रेक्टर बरामद गरेको हो । शंका लागेर चेकजाँच गर्दा भन्सार नगरी नेपाल ल्याएको ५० थान फलामको खटिया र ११ थान डसनासहित ट्रेक्टर, चालक र सामान मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुभाष कुमार गैरेले जानकारी दिए । महाराजगञ्ज नपा ६, बुटहनियाका ट्रेक्टरचालक ३६ वर्षे ओमप्रकाश यादव र महाराजगञ्ज २, उनलियाका ३८ वर्षे हरिचन्द्र प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गैरेले जनाए ।
सामान, ट्रेक्टर र पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार चलान गरेको प्रहरी निरीक्षक गैरेले बताएका छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिएको सामान ५० थान फलामको खटियाको ५० हजार, ३ लाख ५० हजार मूल्य बराबरको ट्रेक्टर र ११ डसनाको २२ सय गरी कूल ४ लाख २ हजार २सय बराबरको छ ।
१६ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया