११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सांसदले समृद्धिको यात्रामा देशलाई अघि बढाउनु पर्छ – राष्ट्रपति



मायादेवी अनलाइन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनओटै तहका चुनाव सम्पन्न भएपछि देशले सङक्रमणको एक चरण पूरा गरेको बताउनुभएको छ ।

संघीय संसद्का दुवै सदनलाई केही बेरअघि संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सङक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक हुन आह्वान गर्नुभयो । उहाँले लोकतन्त्र मानिसको जीवन पद्धति र अनुभूत गर्ने विषय भएकाले जनताले जीवनस्तर सुधारको अनुभूति गर्न नसकेमा यो केवल खोक्रो नारा सावित हुने विचार व्यक्त गर्नुभयो ।

तीव्र गतिको समृद्धिको यात्रामा देशलाई अघि बढाउन उहाँले दुवै सदनका सांसदहरूलाई आह्वान पनि गर्नुभएको छ । विकास र समृद्धिको यात्रामा छिमेकी राष्ट्रहरूको सम्बन्धलाई समन्वय गर्दै अघि बढ्न पनि राष्ट्रपति भण्डारीको सुझाव छ ।

पूर्ण लोकतान्त्रिक समृद्ध मुलुक बनाउन युवाको ऊर्जा अब देशकै लागि उपयोग हुनुपर्नेमा पनि राष्ट्रपतिको जोड छ । नेपालको संविधानमा व्यवस्था भएबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभाको चुनावपछिको पहिलो अधिवेशनलाई सम्बोधन गर्नुभएको हो ।

सम्बोधन कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  ११ : ३७ बजे