सीताराम चौधरी, चन्द्रौटा ।
भारतीय मालबाहक सवारी कारबाहीबाट कपिलवस्तु ट्राफिकले एक महिनामा ६ लाख ९७ हजार राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले फागुन महिनामा १२सय ४५ मालबाहक सवारी कारवाहीबाट सो राजश्व उठाएको हो । क्षमताभन्दा अत्यधिक भार बोकी कृष्णनगर नाका हुँदै नेपाल भित्रिएका भारतीय मालबाहक सवारी साधनमाथि कारवाही गर्दा सो राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले बताउनुभयो ।
ओभरलोड नियन्त्रण गर्न कारबाही तीब्र पारेको उहाँको भनाई छ । अत्यधिक भारलाई भारमिलान गरी जरिवाना गर्न थालेपछि भारतीय तौलपुलमा काँटा गरेका नक्कली तौलपूर्जी देखाई नेपाल भित्रिने गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाई छ ।
अनुगमनका क्रममा भारतीय मालबाहक सवारी चालकले ल्याएको तौलपूर्जीमा लेखिएको भन्दा १० टनभन्दा पनि बढी ओभरलोड बोकेको पाइएपछि कडाई गरिएको कार्कीले बताउनुभयो ।
आर्थिक वर्ष २०७४।०७५ को साउनदेखि फागुनसम्म ८ महिनामा भारतीय मालबाहक सवारीबाट कूल १० लाख ९२ हजार राजश्व उठाएको ट्राफिकले फागुनमा मात्र पछिल्लो ७ महिनाको झण्डै दोब्बर राजश्व उठाउन सफल भएको छ ।
ट्राफिकले साउनदेखि माघसम्म भारतीय मालबाहक सवारीबाट कूल ३ लाख ९५ हजार मात्र राजश्व असुली गरेको थियो । ट्राफिकले ८ महिनामा २१ सय ३८ भारतीय मालबाहक सवारी कारवाही गरेको थियो ।
आठ महिनामा करोड बढी राजश्व
कपिलवस्तु ट्राफिक प्रहरीले पछिल्लो ८ महिनामा १ करोड २ लाख ५२ हजार राजश्व संकलन गरेको छ । आ.व. २०७४।०७५ को साउनदेखि फागुनसम्म कूल १५ हजार ५७७ सवारी कारबाहीबाट ट्राफिकले सो राजश्व असुली गर्न सफल हो ।
ओभरलोड, ट्राफिक नियम उलंघन गरेका सवारी कारबाहीबाट राजश्व उठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर कार्कीले बताउनुभयो ।
पछिल्लो समय सवारी चेकजाँचमा कडाई गरेपछि फागुन महिनामा मात्र ३५ सय ३२ सवारी कारबाहीबाट २१ लाख २५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाई छ ।
ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न सवारी साधनबाट ओसारपसार गर्दै आएको ओभरलोड नियन्त्रणमा कडाई गरिएको कार्कीले बताउनुभयो ।
साथै अनाधिकृत तवरले आफ्नो टिप्पर तथा ट्रेक्टरमा थप गरिएको ढाला व्यवसायी स्वयंलाई अनुरोध गरी काट्न लगाइएको कार्कीले जानकारी दिनुभयो । पछिल्लो ८ महिनामा १९सय ६२ ट्रेक्टरमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको कार्कीको भनाई छ ।
सडक दुर्घटनामा कमी ल्याउन चेकिङमा कडाई, विभिन्न किसिमका सवारी चालक लक्षित सडकमै छोटो ट्राफिक सचेतनामूलक प्रशिक्षण, विद्यार्थीलाई ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
१४ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया