मायादेवी अनलाइन, कपिलवस्तु ।
शिक्षा मन्त्रालयको निर्देशन अनुसार स्थानीय स्तरमा संचालित प्रारम्भिक बाल विकास केन्द्र व्यवस्थापन गर्न कपिलवस्तुमा समस्या देखिएको छ । गाउँ बस्तीमा संचालन गरिएका बाल विकास केन्द्र नजिकैको विद्यालयमा गाभ्ने मन्त्रालयको निर्देशन पछि अहिले बालविकास केन्द्रहरु विद्यालयमा धमाधम गाभिन थालेका छन । सबै भन्दा बढि यशोधरा गाउँपालिकाको तिर्तिखी स्थित नेपाल राष्ट्रिय निमाविमा ५ वटा बालविकास केन्द्र गाभिएका हुन । ज्यादै न्यून मात्रामा विद्यार्थी संख्या रहेको सो विद्यालयमा बालविकास केन्द्र गाभिदा विद्यार्थी अनुपातमा शिक्षक बढि देखिएका छन् भने व्यवस्थापनमा उत्तिकै समस्या आएको छ । विद्यालय व्यवस्थापन समितिले भएको विद्यालय संचालन गर्न शिक्षक समस्या भइरहेको बेला बालविकास केन्द्रका शिक्षक व्यवस्थापनमा थप समस्या भएको जनाएको छ । तिर्तिखी जस्तै जिल्लामा प्रारम्भिक बाल विकास केन्द्र ब्यवस्थापनमा कठिनाई भएको छ । बुद्धभुमी नगरपालिकाको भेलाई स्थित सिद्धार्थ स्मारक उमाबिमा ४ वटा, भिल्मी स्थित जनता निमाबि कर्मामा ४ वटा बाल विकास केन्द्र गाभिएका छन् ।
जिल्लामा कुल ५ सय २८ बाल विकास केन्द्र थिए । बिद्यालयमा आधारित ३४० र समुदायमा आधारित १८८ केन्द्र हुन । त्यस मध्ये ५ सय १६ संचालनमा रहेको जिल्ला शिक्षा कार्यालयको दाबी छ । समुदायमा रहेका बाल विकासहरु मापदण्ड अनुसार नरहेका र केन्द्रका सहजकर्ताहरुले समेत नियमित पठनपाठन नगरेको भन्ने गुनासो आए पछि मन्त्रालयको निर्देशन अनुसार समुदायमा रहेका केन्द्रलाई नजिकैको बिद्यालयमा गाभिएको जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले बताए । मापदण्ड अनुसार आफ्नै घरमा संचालन नभएका बाल विकासलाई नजिकको बिद्यालयमा सार्ने शिक्षाको निर्देशन पछि झनै समस्या आएको हो । मन्त्रालयको दुई बर्ष अघि सो निर्देशन दिए पछि शिक्षा कार्यालयले समुदायमा रहेका त्यस्ता बाल विकासलाई बिद्यालयमा सारेको जिशिअ पराजुलीले जनाए । बाल विकास केन्द्रलाई ब्यवस्थित गराउन चालिएको सो कदमले झनै समस्या उब्जिएको व्यवस्थापन समितिहरुको भनाई छ । सोही कारणले एउटै बिद्यालयमा ५ वटा सम्म बाल विकास केन्द्र लगिएका छन् ।
बाल विकासको प्रत्येक केन्द्रमा २० देखि ३० जना ३ देखि ५ बर्ष उमेर बाल बालिका हुनु पर्ने प्रावधान छ । तर एउटै बिद्यालयमा ५ वटा सम्म केन्द्र गाभिदा बालबालिकाहरु भने न्यनु रहेको बिद्यालयकै शिक्षकहरु बताउँछन । शिक्षा कार्यालय चैत पछि नरहने र त्यस पछि शिक्षाको सबै अधिकार स्थानीय तहलाई दिईएको छ । यस्तोमा बाल विकास केन्द्रको ब्यवस्थापन समेत चुनौतीपुर्ण नै देखिएको गौतमबुद्ध मावी गोरुसिंगेका प्रअ रामप्रसाद अर्याल बताउँछ । सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर घटेकै कारण बिद्यार्थीहरुको संख्या न्युन भएको बेला बाल विकासको ब्यवस्थापनमा पनि धेरै समस्या आउने उनले बताए । बिगतमा राजनीतिक प्रभाव दवावमा बाल विकास केन्द्र खोलिएको र आफन्तलाई नै सहजकर्ता बनाई भर्ना गरिएकोले अहिले त्यसको ब्यवस्थान समस्या आएको शिक्षकहरु बताउँछन । बिद्यालयमा बाल विकास केन्द्रमा बाल बालिका नहरेकोले सहजकर्ताहरुलाई अन्य कक्षामा पढाउन लगाईएको छ । बाल विकासको अवस्था कस्तो छ कुन कहा कसरी संचालनमा छन त्यस बारे शिक्षालाई पनि खासै थाहा नभएको शिक्षकहरु बताउँछन ।
१४ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया