१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

सुनौली भन्सारको अवरोध रोकिएन, राजश्वमा पूर्ण असर



भुवन पाण्डे, भैरहवा ।
लामो समयदेखि सिमा नाकामा भएको अवरोध नहट्दा सुनौली नाका अस्तव्यस्थ बनेको छ । स्थानीय स्तरबाट बिभिन्न प्रयास गरिए पनि नाका सहज हुन नसकेको हो । व्यवस्थापनका नाममा भारतीय प्रहरीको अवरोधले गैर भन्सार कृयाकलाप बढेका छन् । प्रहरीले अबैध रुपमा नेपाल आउँदै गरेका गाडिहरुबाट पैसा असुल्दै आएको छ । समाधानका लागि केन्द्रिय स्तबाटै पहल गरिनुपर्ने जानकारहरु बताउँछन् । प्रमुख जिल्ला अधिकारी, भन्सार अधिकृत लगायत अन्य संघसंस्थाबाट सहज बनाउन थुप्रै प्रयास गरेपनि समाधान हुन नसकेको सिद्धार्थनगर उद्योग बाणिज्य संघका महासचिव नेत्र आचार्यले बताउनुभयो ।
भारतको सुनौली नाका हुँदै बेलहिया आइपुग्न मालबाहक गाडिलाई अहिले पाँच दिन बढी लाग्ने गरेको छ । भारतीय प्रहरीलाई पैसा बुझाए एकैदिनमा गाडि नेपाल आइपुग्दछ । भारततर्फ अहिले २० किलोमिटर टाढासम्म मालबाहक ट्रकहरुको लाइन लागेको छ । दैनिक दुई हजार पाँच सयका दरले तिर्नुपने डिटेन्सन चार्जले करोडौँ घाटा हुने भन्दै व्यापारीहरु नजिकको कृष्णनगर र बिरगञ्ज नाकातिर मोडिएका छन् । सुनौली नाकामा अवरोध भएपछि व्यापारीहरुको ढुवानी लागत आकाशिएको उद्योगी बिदुर ढुंगानाको भनाई छ ।
अवरोधले गाडीहरु अन्य नाकातर्फ मोडिएपछि त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा परेको भन्सार कार्यालयले जनाएको छ । समयमै अवरोध नहटे भन्सारले लक्ष्य अनुसार राजश्य संकलन गर्न नसक्ने देखिन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४ बुधबार ००:००  २ : ५२ बजे