लक्ष्मण पोखरेल, बुटवल ।
ट्राइबेकरमा गोल रक्षक सृजन श्रेष्ठ चम्किदा सुनौलो संगम क्लव बुटवलमा जारी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार एपिएफलाई टाइबेकरमा ३–१ ले पराजित गर्दै स्थानीय क्लव सुनौलो सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो । टाइब्रेकमा एपिएफका नबिन लामा मात्रै बललाई जाली चुमाउन सफल भए । एपिएफका रमेश पौड्याल र रबि थिङको बल सुनौलोका गोल रक्षक सृजन श्रेष्ठले रोकेका थिए भने मिलन राईको बल पोष्टमाथि हुदै बाहिरिएको थियो ।
एपिएफका बैकल्पिक गोल रक्षक राजु नगरकोटीले सुनौलोका अजित थापा र पूर्णबहादुर गुरुङको बल गोल हुनबाट बचाए पनि त्यो जीतका लागि प्रर्याप्त हुन सकेन । नगरकोटी खेलको अन्तिम समयमा मैदान प्रवेश गरेका थिए । सुनौलोका आषिश गुरुङ, सुरज हमाल, जनक कार्कीले पेनाल्टीलाई सदुपोग गरेका थिए ।
त्यसअघि खेलको ४४ औ मिनेटमा गोल गर्दै एफिएफले अग्रता लिएको थियो । सुनौलो संगमका गोल रक्षक सृजन श्रेष्ठ अघि बढेको मौकाको सदुपयोग गर्दै एफिएफका युवराज खड्काले बललाई जाली चुमाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको साबिक विजेता सुनौलोका अमृत गुरुङले ५५ औ मिनेटमा गोल फर्काउदै टिमलाई बराबरीमा ल्याएका थिए । डिबक्सअगाडी उठेको बललाई घम्साघम्सीका बीच गुरुङले जाली चुमाएका हुन । त्यस लगत्तै सुनौलोका आषिश गुरुङले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । त्यो अग्रतालाई एपिएफका युवराज खड्काले गोल फर्काउदै बराबरीमा ल्याए । १ सय ५ मिनेटको समयाबधीमा थप कुनै गोल हुन नसकेपछि खेलको नतिजा टाइबेकरबाट निकालिएको हो ।
खेलको सुरुआतबाटै एपिएफलाई दवावमा राखेको सुनौलेले आधा दर्जन अवसर गुमाएका थियो । एपिएफका दर्जन बढी प्रहारलाई सुनौलोका गोल रक्षक सृजन श्रेष्ठले गोल हुनबाट रोकेका थिए । प्रतियोगितामा सुनौलोका नितिन थापा म्यान अफ द म्याच भएका छन् ।
विजेता टिम नेपाल पलिस र मनाङ मस्र्याङदीको विजेतासंग फाइनल प्रवेशका लागि भिड्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार थ्रिस्टार क्लव र हिमालय फुटवल क्लव मलेसियाकाबीच प्रतिष्पर्धा हुदैछ । बुटवल रामनगरस्थित फुटवल मैदानमा जारी सबैभन्दा धेरै पुरस्कार राशीको गोल्डकपमा दश टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले साढे ७ लाख नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमले एक÷एक लाख नगद पाउनेछन भने उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । विधागत उत्कृष्ट खेलाडीहरुले २०÷२० हजार नगद पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका प्रदेश उपाध्यक्ष मीनप्रसाद पोखरेलले जानकारी दिए ।
१३ चैत्र २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया