१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

हरेक बर्ष आगलागीको समस्या, जनप्रतिनिधि भने विलासी गाडी चढ्नमै मस्त



मायादेवी अनलाइन, कपिलवस्तु ।
फागुनको पहिलो हप्ता सम्म चिसोले जनजीवन प्रभावित पारिरहेको बेला गर्मीयाम शुरु भए संगै फेरी कपिलवस्तुबासीले अर्को विपत्तीको सामना गर्न थालेका छन । विजयनगर गाउँपालिका वडा नम्बर ७ मानपुरको एक घरमा फागुन अन्तिम साता दिउँसो आगलागी हुँदा एक नाबालिकाले अकाल मै ज्यान गुमाइन । स्थानीय छोटकी यादवकी तीन बर्षिय राजकुमारी यादवको आगोमा जलेर ज्यान गएको हो । दिउँसो लागेको आगो नियन्त्रण गर्न स्थानीय र प्रहरीलाई निकै हम्मे हम्मे प¥यो । कारण थियो गाउँपालिकाको साथमा दमकल नहुँनु ।
गाउँपालिका कार्यालय संगै सटेको वडा नम्बर ७ मा लागेको आगो हेरेर चित्त बुझाउनु शिवाय सरोकारवाला र स्थानीयबासी सामु अर्को बिकल्प थिएन । तर पनि स्थानीयबासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आयो स्थानीय कृष्ण थारुले भने, ‘आगो नियन्त्रणमा आए पछि मात्रै हामीले दमकलको मुख देख्यौं ।’ गाउँपालिकाको आफ्नै दमकल भएको भए आगलागीबाट बालिकाको ज्यान जाने थिएन दुखि हँुदै थारुले भने । गाउँपालिकाका प्रमुख र प्रशासकिय अधिकृतले दुई दुई वटा भाडाका गाडी प्रयोग गर्दै आएका छन । उक्त गाडी प्रयोगबाट हाल सम्म लाखौ खर्च भैसकेको छ । तर खर्च कम गर्न तर्फ उनीहरु लागेको देखिदैन । आगलागीबाट नागरिक जलिरहेका छन, एक स्थानीयले भने, गाउँपालिकाका प्रमुख भने गाडी चढ्नमै मस्त छन ।’
हावाहुरी चल्नु, आगलागी हुनु र छिनभरमा बस्ती सखाप हुदै धनजनको क्षेती हुनु गर्मीयामको यथार्थता हो । यस्तो क्षेतीवाट नागरिकको जीउ ज्यानको सुरक्षा गर्नु स्थानीय सरकारको कर्तब्य हो । जिल्लाका १० मध्ये ७ वटा स्थानीय सरकारसंग आफ्नै दमकल छैन । न कुनै अर्काे निकायसंग साझेदारीताको पहल नै गरेका छन । त्यसैले जिल्लामा ९३ हजार घरधुरी र ६ लाख बढी जनसंख्याले अवको गर्मीयाममा स्थानीय सरकारवाट ढुक्कले सुरक्षा पाउन सक्ने अवस्था छैन । किनकी १० वटा स्थानीय तह रहेको जिल्लामा दमकल भने मात्र तीन वटा छन् ।
जिल्लामा वर्षेनी आगलागीका सयौँ घटनाहरू हुने गरेका छन् । लाखौँको सम्पत्ति समेत नष्ट हुनुका साथै मानवीय क्षति समेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । गत वर्ष आगलागीबाट ४ सय ५० बढी घरगोठ जलेर नष्ट भए । ६ जनाभन्दा बढीको मृत्यु भयो । सबै भन्दा बढी शिवराज, महाराजगंज नगरपालिका, विजयनगर गाउँपालिकामा आगलागीका घटना घटेका हुन । हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गर्दछन् । अहिले पुनः गर्मीयाम सँगै हावाहुरीको मौसम सुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो लिएका छैनन ।
जननिर्वाचित प्रतिनिधिहरू समेत आगलागीका सम्भावित घटना न्यूनिकरण तर्फ गम्भीर देखिएका छैनन् । आगलागी नियन्त्रणका लागि स्थानीय तहमा पर्याप्त श्रोत साधनको अभाव छ । जिल्लाका १० मध्ये ७ वटा स्थानीय तहले दकमल खरिदमा चासो दिएका छैनन् । बाणगंगा, कृष्णनगर र कपिलवस्तु नगरपालिका बाहेक अन्यमा दमकल छैनन् । विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरिद गरेका स्थानीय तहले दमकल खरिदमा चासो नदेखाएका हुन ।
सबै भन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाले दमकल खरिद गरेका छैनन् । कृष्णनगर, कपिलवस्तु र बाणगंगामा संचालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदान समेत उपलब्ध गराएका छैनन् । निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् भने कतिपयले दैनिक ४ देखि ६ हजारसम्म भाडामा गाडी चढिरहेका छन् । तर विगतदेखि नै ठूलो समस्याको रूपमा रहेको आगलागी तथा अन्य दैवी प्रकोप न्यूनीकरण तर्फ भने कुनै बजेट विनियोजन गरेका छैनन् ।
आफ्नो नगर क्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनिकरणका लागि नगरपालिकाहरूले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ । दमकल खरिद गर्न शिवराज, महाराजगंज, बुद्धभूमि नगरपालिकाले चासो नदेखाएको स्थानीयबासीहरू बताउँछन् । शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आवश्यक बजेट तथा जनशक्ति अभावले खरिद गर्न नसकेको बताए । दमकल खरिद गरेर परिचालन गर्ने र राख्ने स्थान समेत नभएकाले तत्काल योजना नबनाएको उनले बताए ।‘ आगलागीका घटना हँुदा छिमेकी कृष्णनगर नगरपालिकाको दमकलबाट सेवा लिइरहेका छौँ’, उनले भने ।
यता कृष्णनगरले सेवा दिए बापत शिवराज नगरपालिकाले हालसम्म केही नदिएको बताएको छ । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले दमकल व्यवस्थापन र मर्मतका लागि विजयनगर गाउँपालिका तथा शिवराज, महाराजगंज नगरपालिकाले रकम सहयोग नगर्दा संचालनमा समस्या परेको बताए ।
जिल्ला समन्वय समितिले पनि दमकल खरिद गर्न तथा आगलागीका घटना न्यूनिकरण गर्न स्थानीय तहले आवश्यक योजना बनाउनुपर्ने बताएको छ । सबै नगरपालिका तथा गाउँपालिकाहरूले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालिन सन्देश प्रवाह पद्धतीबारे नयाँ योजना ल्याउन आवश्यक रहेको स्थानीय समन्वय अधिकारी चन्द्रकान्त न्यौपानले बताए । नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत रहेकाले तत्काल सबैले दमकल खरिदको प्रक्रिया थाल्न न्यौपानेले आग्रह गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  ७ : ३३ बजे