लक्ष्मण पोखरेल, बुटबल ।
पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए ।
शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए ।
प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे ।
तराई र पहाडी भु–भागको समुचित विकासका लागि दातृ निकायको सहयोग आवश्यक रहने मन्त्री तथा सांसदको जोड छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सामान्य र बृहद स्तरका दुई कार्यक्रमलाई प्राथमिकतामा रोखर काम गर्न सुझाव दिए ।
प्रदेश सभा सांसद रमा अर्याल, तुलाराम घर्ती, बलदेव पोखरेल, नेत्रनारायण आचार्य लगायतले बोल्दै तराईमा एकीकृत वस्ती निर्माण, पहाडमा सडक पूर्वाधार, दलित, मधेशी, थारु, अल्प संख्यक समुदायको जीवन स्तर उकास्ने काममा लगानी गर्न सुझाव दिए ।
विश्व बैंकले नेपालको संघीय संरचना अनुरुप प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरेर काम अगाडी बढाउने रणनीति तय गर्दैछ । प्रदेश नम्बर १ र ५ मा पहिलो चरणमा लगानी गरिने बैंकका नेपाल कार्यालयका बरिष्ट अधिकृत विजय प्रधानले बताए ।
२६ फाल्गुन २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया