११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आजदेखि संघीय संसदले काम थाल्ने



मायादेवी अनलाइन, काठमाडौं ।
संघीय संसदले आजदेखि काम थाल्दैछ । आइतबार सांसदहरुले सपथ लिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे दुवै सदनको बैठक सम्बन्धित सदनको हलमा बस्ने संसद सचिवालयले जनाएको छ ।
पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको जानकारी सहितको पत्र पढेर सुनाइने कार्यसूचि छ । संसद्को पहिलो बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ । दुवै सदनको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्य्विधि प्रस्तुत हुनेछ ।
प्रतिनिधिसभाका सभामुखका लागि फागुन २६ गते चुनावको मिति तोक्ने तयारी छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ । संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले सभामुखको चुनावको भोलिपल्ट यो कार्यसूची राखिएको हो ।
राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी मिति तय गर्ने तयारी छ । सभामुख र अध्यक्षको चयनपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय हुने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४ सोमबार ००:००  ३ : २६ बजे