७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

श्रेष्ठले लगातार म्याराथनको उपाधी जितेपछि …



मायादेवी अनलाइन, तौलिहवा ।
फागु पुर्णिमाको अवसर पारेर आयोजना गरिएको चौथो लुम्बिनी पिस म्याराथनको उपाधी होमलाल श्रेष्ठले जितेका छन । श्रेष्ठले १ सय ९५ किलोमिटरको दुरी २ घण्टा ४५ मिनेट ५३ सेकेण्डमा पार गरेका थिए । उपाधी जिते संगै श्रेष्ठले १ लाख नगद पुरस्कार प्राप्त गरेका छन । नेपाली सेनामा कार्यरत उनी गतबर्षका समेत विजेता हुन ।
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी कपिलबस्तु फर्केको दिन फागुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा पिस म्याराथन आयोजना गरिएको हो । कपिलवस्तुको कुदानबाट म्याराथन शुरु गरिएको थियो । बुद्धकालिन प्राचिन महत्वका स्थलहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले गरिएको म्याराथन कुदान, गोटिहवा, तिलौराकोट, निगालीकोट दोहनी हुदै मायादेवी बगैंचामा पुगेर सकिएको थियो । म्याराथनको दोश्रो र तेश्रो उपाधी पनि सेनाका जवानले कब्जा गरेका छन । सेनाकै हरिप्रसाद रिमाल दोश्रो र खगेन्द्र भट्ट तेस्रो बने । रिमालले २ घण्टा ५७ मिनेट २४ सेकेन्ड मा दौड पुरा गरे भने भट्टले ३ घण्टा ३ मिनेट ४० सेकेण्डमा दुरी पार गरे ।
विजेता होमलालले लुम्बिनी अशोका शान्ति पुरस्कार बापत १ लाख पाए । दोस्रो र तेस्रो हुनेले क्रमशः कपिलवस्तु हुएन शान शान्ति पुरस्कार र मायादेवी मन्दिर उद्यान शान्ति पुरस्कार बापत ७५ र ५० हजार प्राप्त गरे । बुद्ध जन्मस्थलमा आएर उपाधि जित्न पाउँदा खुशी लागेको श्रेष्ठले बताए । आफुले उपाधी जिते संगै मुलुकमा दिगो शान्ति स्थापनाका लागि कामना गरेको जनाए । शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्रालि र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्त रुपमा आयोजना गरेको पर्यटन मुलक प्रतियोगितामा लुम्बिनी शान्ति हाफ म्याराथन २०१८ को उपाधि भारतीय सेनाका तिर्थ पुनले प्राप्त गरे । यसैगरि नेपाली सेनाका रामजी बस्नेत र टिकाराज कटवालले २१ किलोमिटर दौडमा द्वितीय र तृतीय स्थान हासिल गरे । प्रथम, दोश्रो र तृतीय हुने धावकहरुलाई क्रमश रु ५० हजार, ३५, हजार र २५ हजार नगदले पुरस्कृत गरिएको थियो ।
प्रतियोगीतामा नेपाल सहित भारत, चीन, हंगकंग, न्युजील्याण्ड, अमेरिका, जर्मनी, दक्षिण कोरिया, स्वीडेन लगायतका देशहरुको ९४ जना धाबकहरुको सहभागिता रहेको थियो । म्याराथन आयोजना संस्थाका संचालक विक्रम पाण्डेले बुद्धको जन्मस्थल नेपाललाई चिनाउनका लागि पिस म्याराथन एउटा महत्वपूर्ण इभेन्ट बनेको बताए । बुद्धले २९ बर्ष विताएको कपिलवस्तु दरबारदेखि जन्मस्थलसम्मको क्षेत्रभित्रका क्रकुच्छद बुद्ध र कनकमुनी बुद्धको मातृभूमी समेटेर आयोजना गरिएको दौड विश्वमै पहिलो भएको उनी बताउँछन । सन् २०१२ बाट शुरु गरिएको प्रतियोगितामा ओलम्पिक स्टाण्डर्डको ४२ दशमलव १९५ किलोमिटरको दौड गरिएको पहिलो हो । सन् २०१३ मा आयोजित पिस म्याराथनमा दोहनी देखि लुम्बिनी बगैंचासम्मको दुरी तय गरिएको थियो । कार्यक्रममा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्स, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट, एडभेन्चर स्पोट्र्स सोसाइटी नेपालल गायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४ सोमबार ००:००  ३ : १८ बजे