४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सहिद तथा बेपत्ता परिवारलाई सम्मान



रवि पाण्डे, नवलपरासी ।
नेकपा (क्रान्तिकारी माओवादी ) र नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्लामा संयुक्त कार्यक्रम गरी आइतबार सहिद तथा बेपत्ता परिवार सम्मान गरेका छन् । मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच कार्यगत एकता गर्ने केन्द्रीय सहमति अनुसार संयुक्त कार्यक्रम आयोजना गरिएको हो ।
बर्दघाटमा आयोजित सो कार्यक्रममा दुवै पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन । कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी ) का पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ५ का सचिव प्रेम सुवेदीले एमाले र माओवादी केन्द्रले जनतालाई बामपन्थी भएको भम्र छरेकाले क्रान्तिकारी शक्तिबीच एकता आवश्यक रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो ईञ्चार्ज चन्द्रबहादुर चन्द बिरजंगले देशमा घुसखोरी कमिशनतन्त्र मौलाएकाले क्रान्तिकारी शक्ति बीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले क्रान्तिकारी एकताबाट मात्र संर्घष हुने र क्रान्तिको कार्यभार पुरा हुने बताउनुभयो ।
कार्यक्रममा शहिद तथा बेपत्ता परिवारहरुले आफ्ना सन्तानले दिएको बलिदानी खेर जान थालेको भन्दै चिन्ता समेत ब्यक्त गरेका थिए । उक्त अवसरमा ३४ जना शहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान गरिएको बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४ सोमबार ००:००  ३ : १४ बजे