२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

पाँच नम्वर प्रदेशका अधिकांश सरकारी नियुक्तीमा पश्चिम क्षेत्र हाबी



मायादेवी अनलाइन, कपिलवस्तु ।
लामो समय कपिलवस्तुलाई रुपन्देहीले छायामा पारेर सदैव उपेक्षित बनाएको राजनैतीक बृत्तमा गुनासो भै रहँदा यतिवेला भने स्वयम बुटवल र लुम्विनी क्षेत्र नै प्रदेश सरकारवाट छायाँमा पर्न थालेकोछ ।
प्रदेश ५ को सरकार अन्तर्गतका अधिकांस महत्वपूर्ण पद लुम्विनी भन्दा बाहिर वाटै पूर्तिगर्ने गरेपछि यस्तो अवस्था देखिएको हो । दाङका बासिन्दा समेत रहनु भएका मुख्यमन्त्री शंकर पोख्रेल र माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णवहादुर महरा दुईपार्टीका निर्णायक शक्ति बनेसंगै सरकारका अधिकांश नियुक्तिमा बुटवल र लुम्बिनी क्षेत्रले भन्दा सो भन्दा पश्चिमी क्षेत्रले प्राथमिकता पाउँदै गएकोछ ।
प्रदेश सभामुखमा रुकुम पूर्वका पूर्णबहादुर घर्ती ,उपसभामुखमा बर्दियाकी कृष्णी थारुलाई नियुक्त गरियो भने मन्त्री परिषदको पहिलो विस्तारमा पनि रोल्पाकै कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाइयो ।यो पद मुख्यमन्त्री पछिको महत्वपूर्णपद मानिन्छ । एमालेबाट लामो कसरतपछि नवलपरासीका वैजनाथ चौधरी भौतिक पूर्वाधार मन्त्री बन्न सफल हुनुभयो । एमालेका उपमहासचिव विष्णु पौडेलको विशेष अडानका कारण उहाले सो मन्त्रालय पाउनु भएको वताइन्छ ।
प्रदेशको मुख्य न्यायाधिवक्ता पनि दाङबाटै बन्दैछन् । दाङका ठाकुर डिसी मुख्य न्यायाधिवक्ता बन्दैछन् । नियुक्ति भइसकेको भन्दै बधाई सहित दाङका एमाले नेताहरुले नै प्रचार गर्न थालेका छन् । तर यसको जानकारी प्रवक्तालाई छैन । एमालेबाट मन्त्री बनेका चौधरी भन्नु हुन्छ ‘मलाई जानकारी छैन, मुख्यमन्त्रीज्यूले केही गर्नुभएको होला ।’
यसअघि कानुन आयोगको अध्यक्ष पनि दाङकै कुमार आचार्य बनि सक्नु भएकोछ । यसरी बुटवलले अस्थायी राजधानी पाए वापत सबै महत्वपूर्ण पद लुम्विनी वाहिरै केन्द्रीत गर्दा यो क्षेत्रका सत्तासाझेदार दलका नेताहरु भित्रभित्रै असन्तुष्ट बनेका छन् । त्यसो त कपिलवस्तुवाट एमालेका प्रदेश सांसद विष्णु पन्थी अर्थमन्त्रीको चर्चामा रहेपनि बुटवल र दाङका शिर्ष नेताको आ —आफ्नै खिचातानी बीच पन्थीले मन्त्री पद पाउन सफल भएमा कपिलवस्तुवासीले थोरै राहत महशुस गर्ने अवस्था बन्न सक्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४ सोमबार ००:००  ३ : ०७ बजे