हरि अधिकारी, कपिलवस्तु ।
सिद्धार्थ क्याम्पस वाणगंगाका सहायक क्याम्पस प्रमुख दीप बहादुर केसीको मंगलबार राती निधन भएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ कपिलवस्तुका अध्यक्ष समेत रहनु भएका दिप बहादुर केसीको ५५ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । १० वर्ष दाङ्ग जिल्ला हाल शान्तिनगर गाँउपालिकाको सिम बौलाकोटी मा.वि.मा प्रध्यानाध्यापक र २३ वर्षसम्म सिद्धार्थ क्याम्पस वाणगंगामा प्रध्यापन गर्दै आउनु भएका प्राध्यापक दिप बहादुर केसीको असामयिक निधनले क्याम्पस परिवार मर्माहत भएको क्याम्पस प्रमुख बालाराम ज्ञवालीले बताउनुभयो । २०५२ भदौ २८ गतेदेखि सिद्धार्थ क्याम्पस वाणगंगामा अध्यापनरत केसीको गत श्रावण महिना देखि मुटु र फोक्सोमा स्वास्थ्य समस्या देखिएको थियो । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएपछि डेढ महिना यता घरमै बस्दै आउनु भएको थियो । केसीको निधनपछि सिद्धार्थ क्याम्पस वाणगंगामा आयोजित श्रद्धान्जली सभामा क्याम्पस प्रमुख बालाराम ज्ञवाली, क्याम्पस संचालक समिति अध्यक्ष झविलाल पोख्रेल लगाएतका प्राध्यापक, विद्यार्थी तथा शुभेच्छुकले उहाँको पार्थिव शरिरमा श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धान्जली सभामा सिद्धार्थ क्याम्पसमा रहेर उच्च शिक्षा प्रदान गर्ने उर्जाशिल प्राध्यापक केसी गुमाउदा अपुरणीय क्षति पुगेको भन्दै उहाँको प्राविधिक शिक्षा संचालन गर्ने सोचलाई साकार पार्ने संचालक समिति अध्यक्ष झविलाल पोख्रेलले बताउनुभयो । क्याम्पस प्रशासन तथा जिल्ला भरिका पब्लिक क्याम्पसहरुले स्वर्गीय दिप बहादुर केसीको सम्झनामा १ दिन शोक विदा गरेका छन् । २०१९ साल जेठ ४ मा सल्यान जिल्ला रामपुर २ मा जन्मिनु भएका केसी कपिलवस्तुको वाणगंगा बुङ्कचीमा स्थायी रुपमा बसोवास गर्दै आउनुभएको थियो । उहाँको परिवारमा श्रीमति, एक छोरा र छोरी रहेका छन् ।
यसैबीच प्राध्यापक दिप बहादुर केसीको पार्थिव शरिरमा नेकपा एमाले कपिलवस्तुले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेको छ । श्रद्धान्जली सभामा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल तथा संविधान सभा पूर्व सदस्य तथा ५ नम्बर प्रदेश कमिटिका सदस्य बलराम अधिकारीले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गर्नुभएको थियो । पब्लिक क्याम्पस संघका जिल्ला सचिव रोमकान्त घिमिरे तथा पार्टी सचिवालय सदस्य शंकर पाण्डेले स्वर्गीय दिपबहादुर केसीको पारिवारिक, शैक्षिक तथा सामाजिक क्षेत्रको योगदान र जीवनीबारे प्रकाश पार्नुभएको थियो ।
१६ फाल्गुन २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया