११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

गुल्मीमा भेटियो नक्कली नोट !



मायादेवी अनलाइन, गुल्मी ।
गुल्मीमा ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घास स्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो ।

स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताउनुभयो । फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन सजिलो बनाउनका लागि तारलाई बीचबीचमा काटेर नोटमा टाँसिएको छ ।

उक्त नोटमा टाँसिएको तारलाई सहजैरुपमा कोट्याएर निकाल्न सकिन्छ । बैंकका कर्मचारीले अन्तिम समयमा नोट सर्टिङ गर्ने क्रममा उक्त नोट अलि मोटो भएकोे महसुस गरेपछि अनुसन्धानको क्रममा सो नोट नक्कली पाइएको बताइएको छ ।

जिल्लामा पछिल्लो समयमा भित्रिएका यस्ता प्रकारका नक्कली नोट सहजैरुपमा बैंकमा पनि भित्रिसकेको अवस्थामा व्यवसायी पनि सजग हुनुपर्ने अवस्था सिर्जना भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४ बुधबार ००:००  ३ : ३० बजे