भुवन पाण्डे, भैरहवा ।
नेपालको पर्यटन प्रबद्र्धन र सामाजिक संस्कारको आदान प्रदानमा लाभ लिन स्पेनका जनप्रतिनिधीले मंगलबार लुम्बिनी भ्रमण गरेका छन् । स्पेनको मड्रिड र नेपालको काठमाडौं महानगरपालिकाबीच सोमबार भगिनी सम्बन्ध स्थापना भएको थियो । विश्व समुदायको सम्पदा स्थल लुम्बिनीसँग स्पेनको सम्बन्ध जोड्न पाउँदा दुबै देशलाई फाइदा पुग्ने मड्रिड सहरका उपप्रमुख लुइस कार्लोस क्युटोले बताउनुभयो ।
दुई नगरबीचको सम्बन्ध भएपनि यसबाट दुबै मुलुकले आपसी हित, आर्थिक र सांस्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । पछिल्लो समय स्पेनबाट लुम्बिनी भ्रमण, पुरातात्विक स्थलहरुको अध्ययन, अनुसन्धान गर्न पर्यटक आउने क्रम बढ्दो छ । आधुनिक संरचना सहित विकशीत भएको सहर स्पेनबाट नेपालले पर्यटन, पूर्वाधार विकास, क्षमता विकास लगायतबाट फाइदा लिन सक्ने छ ।
स्पेनको राजधानी मेड्रिड सहर युरोपियन सहरहरु मध्ये जनसंख्याको हिसावले तेश्रो ठूलो सहर हो । सहरमा रहेका तीन दशमलव पाँच मिलियन मानिसलाई नेपाल भ्रमण गराउन सके नेपाली पर्यटन व्यवसायीहरुले फाइदा लिन सक्ने व्यवसायी टंक प्रसाद पोखरेलले बताउनुभयो ।
पर्यटन विकाससँगै मंगलबार काठमाडौँमा नेपाल र स्पेनको बाणिज्य च्याम्बरसँग कला, संस्कृतिको आदान प्रदान र व्यापार प्रवर्द्धनमा भगिनी सम्बन्ध कायम गर्ने मेयर शाक्यले जानकारी दिनुभयो ।
१६ फाल्गुन २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया