२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

गुडिरहेको बस माथि बम प्रहार, १२ यात्रु घाइते



गीता पौडेल, चन्द्रौटा ।
कपिलवस्तुमा गुडिरहेको बस माथि अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । काठमाण्डौबाट दाङ जादै गरेको ना ५ ख ७९१० नम्बरको यात्रुबाहक बस माथी जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ सुपा देउराली चोकमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट बसमा सवार १२ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घाइतेहरुलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरीका अनुसार तीन जना यात्रुलाई थप उपचारका लागि बुटबल रिफर गरिएको छ ।
बसमा सामान्य क्षति पुगेको बताइएको छ । बसका केही सिसाहरु फुटेका छन । घटना कस्ले किन घटायो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
नेकपाले गरेको नेपाल बन्दको प्रभाव यहाँ विहानै देखि परेकोछ । बन्दकर्ताहरु सडकमा नदेखिए पनि जिल्लाका बजार पसल, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना सबै ठप्प छन । छिटफुट रुपमा सवारी साधन चलेपनि यातायातका साधन पूर्ण रुपमा ठप्प छन । दिउँसो पख प्रहरीले पूर्वपश्चिम राजमार्गमा कडा सुरक्षा दिएको बताए पछि केही सवारीसाधन राजमार्गमा सञ्चालनमा आएका थिए । तर गुडिरहेको बस माथि एक्कासी बम प्रहार भएपनि यातायात धनी त्रसित भएका छन ।
तस्विर ः अज्ञात समूहले बम प्रहार गरेको बस ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४ मंगलबार ००:००  ११ : १२ बजे