२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

सार्वजनिक पार्क शाह परिवारको कब्जामा



मायादेवी अनलाइन, कृष्णनगर ।
कृष्णनगर बजारमा अवस्थित महेन्द्र पार्क कुनै एक परिवारको कब्जामा रहेको भन्दै बजारबासीले गुनासो गरेका छन । सार्वजनिक सम्पत्तिलाई दादागिरी शैलीमा कुनै एक परिवारले पार्कको भोगचलन गर्दै आएपनि सरकारी निकाय मौन बसेको कृष्णनगरबासीको आरोप छ । नेपाल–भारत सीमानाका संगै जोडिएको महेन्द्र पार्क २०१५ सालमा स्थापना गरिएको हो । तत्कालिन समय कृष्णनगरका शिवप्रताप शाह अर्थ राज्यमन्त्री हुँदा राजा महेन्द्र कुनै एक कार्यक्रममा यहाँ आएका थिए । उ बेला राजा महेन्द्रले कुनै पनि सभा, समारोह, सम्मेलन र नेपाल भारत आवातजावत गर्ने सर्वसाधारणलाई बसोबासको प्रबन्ध मिलाउन पार्कको लागि जग्गा उपलब्ध गराएका थिए । राजा महेन्द्रले जग्गा उपलब्ध गराए पछि उक्त पार्कको नाममा महेन्द्र पार्क रहन गएको बजारबासी बताउँछन ।
राजा महेन्द्रले उपलब्ध गराएको उक्त जग्गामा बजारबासीले पार्क र सार्वजनिक पुस्तकालय निर्माणको अपेक्षा राखेका थिए । तर बजारबासीको सबै सपना चकानाचुर भएर अहिले शाह परिवारको कब्जामा रहन गएको बजारबासी दिनेशचन्द्र गुप्ताले बताए । बजारबासीले पटकपटक पार्कलाई सार्वजनिक रुपमा प्रयोग गरौ भन्दा नसुने झै गरेको गुप्ताले जनाए । ‘राज्यबाट पार्कको लागि लाखौ रकम आएको छ उनले भने, “यस विषयमा बोल्न गाह्रो छ ।”
२०१५ साल देखि शाह परिवार कांग्रेस, राप्रपा, मधेसबादी दलबाट राज्यका विभिन्न अहोदामा पुग्दै आएका छन । पटक पटक यो क्षेत्रबाट चुनाव पनि जित्दै आएका छन । राजनीतिक रुपमा पावरफूल मानिएका शाह परिवारले गरेका कुनै पनि काम माथि बजारबासीले प्रश्न चिह्न खडा गर्न सक्दैनन । पार्क विषयमा कुरा उठाउँन निकै गाह्रै भएको स्थानीय प्रभाव भण्डारीले बताए । पार्कलाई कमाई खाने भाडा बनाउँदै आएको उनी बताउँछन ।
विभिन्न समयमा महेन्द्र पार्कलाई सार्वजनिक रुपमा प्रयोग गर्ने प्रस्ताव ल्याएपनि कसैले नसुनेको बजारबासी कृष्ण कुमार गुप्ताले बताए । “हामीले पार्कको विषयलाई बेला बेला उठाउँदै आएको छौ” ‘गुप्ताले भने, हाम्रो बोली कसैले सुन्दैनन ।’ महेन्द्र पार्कको व्यवस्थापन गर्न भनेर बन विभाग, जिविस, गाविस, संसदीय विकास कोष हुँदै नगरपालिका बन्दा सम्म बजेट निकासा हुदै आएको खुल्न आएको छ । राजनीतिक पावरको आधारमा कतिपय केन्द्रिय बजेट पनि आउने गरेको बताइन्छ ।
झण्डै एक विगाह क्षेत्रफलमा अवस्थित पार्कको स्वामित्वमा आठ वटा सटर रहेको भवन निर्माण गरिएको छ । तीस दशक देखी उक्त सटको भाडा रुद्रप्रताप शाह परिवारले प्रयोग गर्दै आएका छन । प्रति सटर प्रति महिना दुई हजारका दरले रुद्रप्रताप शाहलाई भाडा बुजाउँदै आएको कनोडिया बस्त्रालयका व्यापारीले बताए । सटक कस्को हो भन्ने बारे आफुलाई कुनै चासो नभएको तर मासिक रुपमा दुई हजार भाडा बुजाउने गरेको उनले बताए ।
यस विषयमा कुराकानी गर्न खोज्दा रुद्रप्रताप शाहले कुनै प्रतिक्रिया दिन मानेनन । उनलाई भेटेरै उक्त विषयमा कुराकानी गर्न खोज्दा उनले बोल्न ठाडै अविस्कार गरे । यता कृष्णनगर नगरपालिका पनि महेन्द्र पार्क आफ्नो नियन्त्रणमा राख्न हिच्किचाइरहेको पाइएको छ । नगरपालिकाका मेयर शाह परिवारबाटै भएकाले पार्कको विषयमा कुरा गर्न नसकेको नाम नबताउने शर्तमा नगरपालिकाका एक नायब सुब्बा स्तरका कर्मचारीले बताए । पत्रकारले यस विषय उठान गरेपछि आफुहरुलाई सजिलो हुँने ती कर्मचारीको धारणा थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४ मंगलबार ००:००  २ : ४० बजे