मायादेवी अनलाइन, कपिलवस्तु ।
जिल्लामा हात्तीपाईले बिरुद्धको अभियान २०६४ साल देखि लगातार संचालन हुँदै आए पनि खासै उपलब्धी देखिएको छैन । हरेक बर्ष रोग निवारणको लागि महाअभियान चलाइने गरे पनि रोग नियन्त्रणमा आउँन नसकेको हो । यस बर्ष पनि हात्तिपाइले विरुद्धको महाअभियान सञ्चालन गर्ने तयारीमा जिल्ला स्वास्थ्य कार्यालय जुटेको छ । यस बर्ष फागुन १२ देखि ३ दिने अभियान संचालन गर्र्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । २०६४ देखि २०६६ सम्म अभियान संचालन पछि जिल्लाका बिभिन्न बिद्यालय र तत्कालिन गाबिसहरुमा रहेका ब्यक्तिहरुको नमुना रगत संकलन गरिएको थियो । त्यति बेला पनि हात्तीपाईलेबाट संक्रमित भेटिएका थिए । त्यस पछि पनि अभियान संचालन गरिए पछि पाचांै, छैठौं र आठौं बर्ष पनि नमुना रक्त परिक्षण गर्दा फेरी संक्रमितहरु भेटिएका थिए ।
सन २०२० भित्र हात्तीपाईले रोगीको संख्या १ प्रतिशत भन्दा कममा झार्ने सरकारी योजना छ । तर जिल्लाको तथ्यांकले यो कार्य निकै चुनौतीपुर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन । ९ बर्षे अभियान उपलब्धी मुलक देखिएन बरिष्ठ जनस्वास्थ्य प्रमुख योगेन्द्र भगतले भने, “फेरी यो अभियान संचालन गर्र्न लागेका छौ” । उनका अनुसार नुमना रक्त परिक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका थिए । तत्कालिन बहादुरगंज, महाराजगंज र बाणगंंगा गाबिसका नौ सय जनाको नमुना परीक्षण गर्दा सो फेला परेको थियो । २०७२ कार्तिकमा केन्द्रिय र जिल्ला स्तरीय टोलीले नमुना रक्त संकलन गरेको थियो । २०७२ सालमा बजेट स्विकृत नहुँदा अभियान संचालन भएको थिएन । २०७१ मा जिल्लाका ४० बिद्यालयका ६ र ७ बर्ष उमेरका बालबालिकाहरुमा समेत नमुना परीक्षण गर्दा करिब ५ प्रतिशतमा हात्तीपाईलेको जीवाणु भेटिएको बरिष्ठ जनस्वास्थ्य प्रमुख भगतले जानकारी दिए । सोही तथ्यांक बाहिर आए पछि जिल्लामा २ बर्ष अभियान थपिएको थियो ।
फाल्गुण १३ गते देखि सञ्चालन हुन लागेको हात्तीपाईले बिरुद्धको अभियान जिल्लामा अन्तिम भएकोले सबैले हातेमालो गर्र्नुपर्ने देखिएको छ । सो रोग बिरुद्ध दिईने औषधी पुर्णरुपमा सुरक्षित भए पनि भ्रममा परेर धरैले नखाए पछि समस्या देखिएको चिकित्सकहरुको भनाई छ । ‘ सो रोग बिरुद्ध दिइने औषधी बिश्व स्वास्थ्य संगठनले सिफारिस गरेको हो, त्यसले यो पुर्ण रुपमा सुरक्षित छ ढुक्कसंग खाए हुन्छ’ तौलिहवा अस्पतालका मेडिकल अधिकृत मोहम्मद सद्धाम रहमानले बताए । रोगको परजीवी शरिर भित्र रहेका मानिसहरुलाई सामान्य वाकवाकी रिंगटा आउने र टाउको दुख्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन उदय चन्द चौरसियाले औषधी बिरुद्ध भ्रामक कुराहरुले गर्दा गाउँघरमा भन्दा शहरीयाहरुले औषधी सेवन नगरेको दाबी गरे । ‘गाउँमा मानिसहरुले ढुक्कसंग औषधी खाए, शहरीयाहरुले पोकामा थन्काएर राखे उनले भने’ त्यसले गर्दा अभियानले साथर्कता पाउन सकेन’ । यस पटक ३० देखि ४० घरको बिचमा एक जना स्वयमसेवक परिचालन गरिने योजना रहेको उनले सुनाए । स्वयमसेवक कै प्रत्यक्ष निगरानीमा औषधी खुवाईने छ ।
नवौ बर्षे अभियानमा ५ लाख ५३ हजार ५ सय २४ मध्ये ४ लाख ७५ हजार ९६१ जनाले मात्र औषधी सेवन गरेका थिए । अभियानमा स्वयमसेवक र कर्मचारी गरी ३ हजार ३ सय जना परिचालन हुनेछन् । हात्तीपाइृले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्दछ । केटाकेटीहरु यो रोग जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन् । यो रोग लागे पछि खुट्टा सुन्निएर हात्ती जस्तै हुने, हात स्तन सुन्निने गर्छ । यो औषधी २ बर्ष मुनीका बालबालिका, ७ दिनको सुत्केरी, कडा रोग लागेका र ७० बर्ष नाघेकाले सेवन गर्न नहुने डाक्टरहरु बताउँछन् । २०७३÷०७४ को तथ्याङ्कको आधारमा जिल्लामा खुट्टा सुन्निएका २ सय २८, हाईड्रोसील ६ सय २ र शरीरका अन्य भागमा गरी ८ सय ७८ संक्रमित भेटिएका छन ।
प्रतिक्रिया