सीताराम चौधरी, कृष्णनगर ।
नायक र गायक दुवैको भूमिका खेलेका श्यामकुमार मिश्रको नेपाली कथानक चलचित्र ‘ब्वाइफ्रेण्ड’ नौलो स्वादका साथ छिट्टै प्रदर्शन हुने भएको छ ।
युवापिँढीलाई लक्षित गरी निर्माण गरिएको चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा भोजपुरी गीतले अझ लोकप्रियता कमाउने गायक श्यामकुमार मिश्रको दाबी छ । श्याम मिश्रले स्वर भरेको ब्वाइफ्रेण्डको भोजपुरी गीत “तोरी लच्के ली जब कमरिया, बल खाय जैसन नगिनियाँ, कसम से जान मारेलु, मगहिया पान लागेलु …” हालै सार्वजनिक भएको छ । श्याम मिश्रको उक्त गीतले मधेशी समुदायमा अझ तहल्का पिट्ने उहाँको विश्वास छ । मुख्य नायकको भूमिकामा रहनुभएका श्यामले चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा नयाँ प्रयोग गरेको बताउनुहुन्छ । बलिउड सङ्गीतकार के.के. सिंहको संगीत रहेको उक्त भोजपुरी गीतमा नायक तथा गायक श्यामले आफ्नै स्वर भर्नुभएको छ । जुगिराम राईको शव्द रहेको सो भोजपुरी गीतमा राजेन्द्र कमल राईको नृत्य निर्देशन रहेको छ ।
छिट्टै नेपाली बजारमा आउन लागेको चलचित्र ‘ब्वाइफ्रेण्ड’ कपिलवस्तुको कृष्णनगरमा समेत च्यारिटी सोको लागि तयारीमा जुटेको श्यामले बताउनुभयो । नेपाली चलचित्र ‘किङ्ग’, ‘देउता’, ‘नालायक’ मा सफलतापूर्वक अभिनय गरिसक्नुभएका श्याम मिश्रको विशेष भूमिका रहेको ‘ब्वाइफ्रेण्ड’ले दर्शकको मन जित्ने उहाँको विश्वास छ ।
कपिलवस्तुको कृष्णनगर निवासी श्यामकुमार मिश्र गायन, म्युजिक भिडियो हँुदै नेपाली चलचित्रको पर्दामा देखापर्नुभएको हो । सांगीतिक क्षेत्रमा चर्चा बटुल्नुभएका श्याम मिश्रकै भूमिकाले यतिबेला जिल्लाको नाम समेत चर्चामा छ । कलाकारितासँगै समाजसेवामा समेत निकै लोकप्रिय बन्नुभएका श्याम विभिन्न बिधाबाट सम्मानित समेत भइसक्नुभएको छ । “पाख्रिन फिल्मस्” तथा “सातौं डिजिटल फिल्म अवार्ड–२०७२”, “चौथो म्युजिक खबर म्यूजिक अवार्ड–२०१५”, “सातौं एलजी डिजिटल फिल्म अवार्ड–२०७२” आदि विधाबाट सम्मानित उहाँमा अझ हौसला थपेको बताउनुहुन्छ । सांगीतिक क्षेत्रमा लाग्नुभएका श्याम मिश्रले यतिबेला समग्र जिल्लाकै नाम रोशन पार्न महत्वपूर्ण योगदान दिनुभएको छ ।
श्याम मिश्र अभिनित चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा प्रस्तुतकर्ता सूर्य बुढाथोकी, निर्माता कृष्ण खनाल रहनुभएको छ । यस्तै चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनाम थापा, जानु अर्याल, शेखर के.सी., पवन खनाल लगायतको अभिनय रहेको छ ।
युवा पिंढीमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरीको दैनिकीमा बेवास्ता गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रले आफ्नो कथा बनाएको छ । चलचित्र ‘ब्वाइफ्रेण्ड’ मा निर्देशक मदन घिमिरेले भोजपुरी गीत समावेश गरेर दर्शकलाई नौलो स्वाद पस्कने प्रयास गर्नुभएको छ ।
२८ माघ २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया