११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सिंचाई सचिव यादवको मृत्यु पछि कृष्णनगर शोकमा



मायादेवी अनलाइन, कपिलवस्तु ।
माइली छोरी डा.रन्जना यादवको विवाहको तयारीका लागि सिँचाई मन्त्रालयका सचिव रामानन्द यादव घर आएका थिए । फागुन ११ गते रन्जनाको विवाह भैरहवाका डा.रणधिर यादव संग गर्ने पक्का भएको थियो । विवाहमा फेरि फर्कने गरी उनी काठमाडौं फर्किए । तर, यसपाली उनी काठमाण्डौ पुग्न सकेनन । उनी सवार गाडी शनिवार विहान त्रिशूली नदीमा खस्यो ।
बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सलाङमा दुर्घटना भएको हो । बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिए । छोरीको विवाह गर्ने उनको सपना अधुरै रह्यो । बेपत्ता १५ बर्षिय उन्नती गुप्ताको पनि मृत्यु भएको छ । २२ बर्षिय सन्तोष यादवको अवस्था भने अझै अज्ञात छ । सचिव यादव ५७ बर्षका थिए ।
यादवको मृत्युको खबर पछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा डुवेको छ । यादवकी छोरीको विवाहका लागि सबै तयारी पुरा भएको थियो । ‘हामी पनि निम्तो बाँड्न व्यस्त थियौ । तर आचानक यस्तो घटना भयो । हामी धैरे नै दुखी छौँ ।’ गाउँका प्रदीप यादवले बताए ।
दुर्घटनामा सचिव यादव सहित उनको साथीको छोरी १५ वर्षीया उन्नती गुप्ता मृत अवस्थामा भेटिएका छन् भने २२ वर्षीय छोरा सन्तोष यादव वेपत्ता भएका छन । यादवको श्रीमती कमला यादव र तीन छोरी पनि घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका थिए ।
जेठी छोरी नितुको विरगञ्ज विवाह भैसकेको छ । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७४ आइतबार ००:००  २ : ५३ बजे