११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

जगदीशपुर तालमा विश्व सिमसार दिवस मनाइयो



हरी अधिकारी, कपिलवस्तु ।
‘दिगो शहरी भविष्यका लागि सिमसार’ भन्ने नाराका साथ कपिलवस्तुको जगदीशपुर तालमा २२ औं विश्व सिमसार तथा पाँचौ चरा महोत्सव मनाइएको छ । फेब्रुअरी २ अर्थात माघ १९ मा पर्ने विश्व सिमसार दिवसमा जगदीशपुर जलाशय व्यवस्थापन वहुसरोकार मञ्च कपिलवस्तुले दिवसको अवसरमा तालको सरसफाई गर्दै विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । विश्व सिमसारमा सूचिकृत जगदीशपुर ताल चराहरुको प्रमुख वासस्थान रहेकोले चरा दिवसको रुपमा समेत मनाइदै आएको छ । विश्व सिमसार दिवसका अवसरमा मञ्चले माघ १७ गतेदेखि १९ गते सम्म तालको सरसफाई, म्याराथुन दौड, निवन्ध प्रतियोगिता, लाठी नाँच, झुमरा नाँच, घैटो फोर लगाएका कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकहरु जगदीशपुर तालमा विभिन्न प्रजातीका चराहरुको मनमोहक दृश्य हेर्न आउने गर्र्दछन् । जगदीश ताल चराको आश्रय स्थलको रुपमा रहेकाले यहाँ विश्वका विभिन्न प्रजातीका चराहरु आउने गर्दछन् । तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चराहरु पाइन्छन् । त्यस्तै जगदीशपुर तालमा विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाईने गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । १ सय ५७ हेक्टरमा फैलिएको जगदिशपुर ताल कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  ३ : ४१ बजे