११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

खड्काको न्यानो अभियान शिक्षण संस्थामा



मायादेवी अनलाइन, चन्द्रौटा ।
फेसबुक मार्फत गरीब, विपन्न परिवारका लागि न्यानो अभियान संचालन गरेका कपिलवस्तुका एक युवाले अहिले शिक्षण संस्थामा अभियान शुरु गर्नुभएको छ ।
जिल्लाको शिवराज नगरपालिका २, बालापुर बस्ने युवा समाजसेवी दीपक खडकाले यस वर्षको अत्यधिक जाडो मौसममा अति गरीब, विपन्न, असहाय जेष्ठनागरिक तथा बालबालिकाहरुलाई लक्षित गरी न्यानो अभियान चलाउनुभएको हो । फेसबुक मार्फत सहयोग संकलन गरी सहयोगी हातहरुबाटै उहाँले न्यानो कपडा वितरण गर्दै आउनुभएको छ ।
अभियानकै क्रममा खडकाले शुक्रबार शिवराज १, उमरीस्थित ज्ञानज्योति आधारभूत विद्यालयका १५ जना बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गर्नुभएको छ । फेसबुकको अनुरोधले चन्द्रौटास्थित लक्ष्मी दुग्ध डेरीका प्रोप्राइटर जनक हमालले उहाँलाई ५ हजार बराबरको १५ थान न्यानो स्वीटर खरीद गरी प्रदान गर्नुभएको थियो । शुक्रबार विद्यालयमा पुगी खडकाले एक कार्यक्रमका बीच स्वीटर वितरण गर्नुभएको हो । कार्यक्रममा स्वीटर सहयोग गर्ने जनक हमाल आफैं उपस्थित भई विद्यार्थीलाई स्वीटर लगाइदिनुभयो । यसैगरी सहयोगी हातहरुमध्ये कार्यक्रममा शिवपुर स्वास्थ्य चौकीका सि.अहेव अधिकृत लेखनाथ पौडेल, कालिका सामाजिक केन्द्रका कार्यक्रम अधिकृत अर्जुन थापा समेतको उपस्थिति रहेको थियो ।
यसअघि खडकाले सरस्वती निमावि, जागृति प्रावि र बुद्ध प्राविका ४८ जना बालबालिकाहरुलाई न्यानो स्वीटर वितरण गर्नुभएको थियो । चिसोबाट प्रत्यक्ष प्रभावित बनेका बालबालिकाहरु न्यानो स्वीटरले सिकाइ क्षमतामा वृद्धि हुने विश्वास गरिएको छ । शीतलहरले बालबालिकाहरुको श्वासप्रश्वासमा असर पर्ने र विरामी भई विद्यालयमा समेत उपस्थिति कम हुने महसुस गर्दै बालबालिका लक्षित न्यानो अभियान चलाएको युवा समाजसेवी खडकाले बताउनुभयो ।
खडकाले फेसबुक मार्फत सहयोगी हातहरुको खोजी गरी शिवराज नगरपालिकाभित्रका एक सय बढी गरीब, विपन्न र असहाय जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरिरहनुभएको छ । यसका साथै उहाँले ६सय बढी पुरानो कपडा समेत संकलन गरी वितरण गरिसकेको जानकारी दिनुभयो ।
फेसबुक मार्फत खडकाले चलाएको अभियानमा लेखनाथ पौडेल, शरद अधिकारी, गोपाल बञ्जाडे, तिलक गैरे, सुरज अधिकारी, त्रिदेव चौधरी, गोविन्द के.सी, सरोज पौडेल, अनिरुद्र सापकोटा लगायत दुई दर्जन बढी सहयोगी हातहरुको मदत पाएको उहाँले बताउनुभयो । सहयोगी हातहरुको साथ पाएपछि उहाँमा अझ केही गरुँ भनी उत्साह जागेर अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  ३ : ०९ बजे