२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

सवारी कारवाहीबाट ६ महिनामा ६३ लाख बढी राजश्व संकलन



सीताराम चौधरी, चन्द्रौटा ।
चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले ६३ लाख ४२ हजार ५ सय राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि पुस महिनासम्म सवारी कारवाहीबाट सो राजश्व उठाएको हो । ट्राफिकले कूल १० हजार ७सय ५१ सवारी कारबाहीमा परेको प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक कार्कीले जनाउनुभयो । ट्राफिक कारबाहीमा भारतीय सवारी साधन १हजार ७सय ३ वटा परेको कार्कीले बताउनुभयो । जसबाट ८ लाख ६७ हजार राजश्व उठेको उहाँको भनाई छ ।
६ महिनामा ५४ दुर्घटना, ३१ को मृत्यु
कपिलवस्तुमा पछिल्लो ६ महिनामा ५४ सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभएको छ । सवारी चाप, साँगुरो सडक, चालकको लापरबाही, ट्राफिक नियमको उलंघन आदिका कारण सवारी दुर्घटना बढेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
सवारी दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमलाई अघि सारेको छ । सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिकले चालक, सहचालक, पैदलयात्री, विद्यार्थी, सर्वसाधारण लगायतलाई ट्राफिक नियमबारे चेतनामूलक प्रशिक्षण संचालन गर्दै आएको हो । जिल्ला ट्राफिकले जिल्लाका विभिन्न स्थानमा ४२ वटा चेतनामूलक कार्यक्रम गरेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । जसबाट ४ हजार व्यक्ति लाभान्वित भएको ट्राफिकको दाबी छ ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले पछिल्लो ६ महिनामा १६ सय ८० ट्याक्टरको ट्रलीमा रिफ्लेक्टर टाँस गरेको जनाएको छ । अभियान सँगै ट्राफिकले ६ महिनामा ८सय ९५ सवारीको नम्बर प्लेट सुधार गरेको छ भने १ सय १२ ट्याक्टर टिप्परमा थपेको ढाला कटान गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
दुर्घटना न्यूनीकरण गर्न कपिलवस्तु ट्राफिक प्रहरीले जिल्लाका मुख्य राजमार्ग र अन्य सडकखण्डमा समेत चेकजाँचमा कडाई गरेको छ । तथ्यांक अनुसार गत महिनामा भएका दुर्घटनामा ट्रयाक्टर नै बढी संलग्न भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । दुर्घटनामा कमी ल्याउन ट्राफिकले अहिले जिल्लाको तौलिहवा, शिवपुर, चन्द्रौटा र बाणगंगा जितपुर क्षेत्रमा चल्ने ट्याक्टरहरुलाई विशेष चेकिङ बढाएको छ । सवारी नियमप्रति लापरवाही गर्ने सवारी, सवारी चालक तथा सहचालकहरुलाई चेकिङ स्थलमै ट्राफिक नियम सम्बन्धी चेतना मूलक प्रशिक्षण दिई नियमानुसारको जरिवाना गरी छाड्ने गरिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाई छ । अभियान अन्तर्गत ट्राफिकले अन्य सवारी साधनका चालकहरुलाई समेत ट्राफिक प्रहरीको “चालकसँग ३ मिनेट” कार्यक्रमको अवधारणा अनुसार सडक मै भेला, जम्मा गरी प्रशिक्षण गर्ने गरिएको कार्कीले जनाउनुभयो ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  २ : ३९ बजे