मायादेवी अनलाइन, कपिलवस्तु, ९ माघ ।
कपिलवस्तुमा अवस्थित लक्ष्मणघाट निकै चर्चित धार्मिक पर्यटकिय स्थल हो । हिन्दुधर्मालम्विहरुको लागि लक्ष्मणघाट निकै पवित्र भूमि मानिन्छ । यहाँ दैनिकजसो श्रद्धालु भक्तजनहरु अवलोकनका लागि आउने गरेका छन । नेपाल लगायत छिमेकि देश भारत सम्मका तीर्थयात्री जल लिन यहाँ आउँने गर्दछन । जति धार्मिक रुपमा लक्ष्मणघाट परिचित छ त्यति नै मात्रामा शवदहनका लागि पनि परिचित मानिन्छ । वाणगंगा र कोइली नदीको संगम स्थलका रुपमा रहेको लक्ष्मणघाटमा दशकौ देखि शवदहन हुँदै आएको छ । शवदहन हुदै आएको झण्डै पाँच सय मिटर तल दशनार्थीले लक्ष्मणघाटको पानीलाई पवित्र जलको रुपमा प्रयोग गर्दै आएका छन । तर यस विषयमा कसैको ध्यान पुग्न सकेको छैन ।
पटक पटक शवदाहस्थललाई व्यवस्थित पार्ने योजना बनाउँने गरेपनि कार्यान्वयनमा आउन नसकेको स्थानीय समाजसेवी राम बहादुर गन्र्धव बताउँछन । माथि शवदहन हुने र तल जलको रुपमा पानीलाई प्रयोग गर्दा स्वास्थ्य मै असर पार्ने गरेको गन्र्धवले सुनाए । यस विषयमा कोही जिम्मेवार बन्न नसकेको उनले गुनासो गरे ।
यहाँका सरोकारवालाहरुले बेलाबेला शवदाहस्थललाई व्यवस्थित पार्न विभिन्न योजना बनाउने गरे पनि ति योजना मुखमा मात्र सिमित हुँदै आएका छन । योजना मुखले बनाउने तर कार्यान्वयन नगर्ने परिपाटीले पवित्र भावनाको साथ आउँने दशनार्थीको स्वास्थ्यमा गम्भिर असर पर्दै आएको छ । धार्मिक हिसाबले भरिपूर्ण लक्ष्मणघाटमा शवदाह गृह बनाउनुपर्ने स्थानीयबासीको माग छ । दशकौ देखि शवदहन हुदै आएपनि अझै शवदाह गृह यहाँ निर्माण हुन सकेको छैन ।
यतिमात्र होइन शवदाह स्थल वरपर गाउँ रहेका छन । शवदहनले जमिन, जल र बायु प्रदुषण जटिल बन्दै आएको छ । जथाभावी रुपमा शवदहन गर्ने गरिदा वातावरण नै प्रदुषित हुँने गरेको स्थानीय लक्ष्मी विष्टले बताइन । ‘माथि शवदहन, तल जल उनले भनिन, “भक्तजनको स्वास्थ्यमा गम्भिर खेलवाड भैरहेको छ ।”
जिल्लाबासीले सबैभन्दा बढी प्रयोग गर्ने शवदाह स्थल लक्ष्मणघाट नै रहेको छ । यस्तै छिमेकि जिल्लाबाट पनि दैनिक चार÷पाँच ओटा शव आउने गरेका छन । शव जलाउने तर सरसफाई नगर्ने परिपाटि हावी हँदा लक्ष्मणघाट दुर्गन्धित बन्दै गएको हो । घाट दुर्गन्धित हुँदा नजिकै रहेका गाउँहरुलाई समेत असर पर्दै आएको छ । दैनिक जल्ने शवको धुँवाले नजिकै रहेका गाउँहरुलाई प्रत्यक्ष असर पार्ने गरेको बनगाईका समाजसेवी बोमप्रसाद न्यौपाने बताउँछन । शवदाह स्थल व्यवस्थित पार्न गाउँस्तरबाट बनाइएको समितिका अध्यक्ष समेत रहेका न्यौपानेले सरकारी कदम विना गाउँलेले केही गर्न नसकेको उनी बताउँछन ।
शवदाह स्थललाई व्यवस्थित पार्ने योजना पहिले देखि नै भएपनि अब कार्यान्वयनको चरणमा रहेको वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले बताए । वाणगंगा नगरपालिकाले शवदहनलाई व्यवस्थित पार्न बजेट विनियोजन गरेको वडा अध्यक्ष गिरीले बताए । शवदाह स्थल नजिकै गाउँहरु भएको कारण शवदहन स्थललाई अन्यन्त्र सार्नुपर्ने स्थानीयको माग छ । “गाउँलेको राय सुझाव र जिल्लाकोे ऐतिहासिकता भएको भूमिलाई मध्यनजर गरि शवदाह स्थल सार्ने छौं उनले भने ।”
वाणगंगाका मेयर मंगल प्रसाद थारुले लक्ष्मणघाटमा रहेको शवदहनलाई तत्काल व्यवस्थित पार्ने आश्वसन दिए । अव्यवस्थित रुपमा शवदहन हुँदै आएको लक्ष्मणघाटमा अबका केही महिना पछि व्यवस्थित हुने उनले बताए । हजारौँ दशनार्थी पवित्र जल लिन आउँने लक्ष्मणघाटको माथि शवदहन हुनु राम्रो नभएको उनले बताए ।
९ माघ २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया