९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रिडी क्षेत्रमा बिहानै देखी दर्शनार्थीको घुईंचो



शिव सुवेदी २ माघ ।

चार धाम मध्ये एक धामका रुपमा परिचित तथा गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरु (रिडी) क्षेत्रमा मंगलबार बिहानै देखी दर्शनार्थीको घुईंचो लागेको छ ।

पश्चिम नेपालको ऐतिहासिक तथा धार्मिक क्षेत्र रुरुमा खासगरी कालीगण्डकीमा माघे संक्रान्तिको अवसरमा स्नान गर्ने तथा यस क्षेत्रमा रहेका विभिन्न मठ मन्दिरमा पूजाआजा गर्नका लागि श्रद्धालुहरुको आउने गर्दछन् । रुरु क्षेत्रमा ऋषिकेश, रुरु कन्या र भृगतुङ्गेश्वरको दर्शनका लागि प्रख्यात छन् । यी मन्दिरहरुमा आजदेखी पाँच दिनसम्म विशेष पूजा तथा मेला लाग्ने गर्दछ ।

रुरु क्षेत्र आचार्य पिठका पिठाधिस प्रधान जगतगुरु देवेश्वर सरस्वतीका अनुसार १८ पुराण मध्येको एक ‘बराह पुराण’मा उल्लेख भए अनुसार रुरु क्षेत्रको धार्मिक महत्व ५ हजार वर्ष पुरानो रहेको हो । माघे सक्रान्तिको अवसरमा गण्डकीमा स्नान गर्ने र यहाँ रहेका विभिन्न धार्मिक मठ मन्दिरमा पूजाआजा गरेमा जीवनमा गरेका सम्पूर्ण पाप नष्ट भएर जाने तथा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । माघे संक्रान्तिको अवशरमा काली गण्डकीमा स्नान गर्न र ऋिषीकेशव मन्दिरको दर्शन गर्नका लागि गुल्मी लगायत पाल्पा, स्याङजा, अर्घाखाँची, प्युठान, वाग्लुङ्ग, रुपन्देही, नवलपरासी दाङ्ग, कपिलबस्तु चितवन, काठमाडांै, पर्वत लगायत जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरु यस क्षेत्रमा आउने गरेको रुरु क्षेत्र मेला ब्यबस्थापन समितिका अध्यक्ष रामलाल बिकले जानकारी दिए ।

यसदिन नदीमा स्नान गरेर रुरु कन्याको दर्शन गरेमा अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुने किंवदन्ती रहेको छ । नेपालमा रहेका चारधाममध्ये प्रख्यात रहेको एक रिडी धाममा माघ महिनामा यहाँ आएर रुरु नदी र कालीगण्डकीको सङ्गम श्रीकृष्ण गण्डकीमा नुहाएर तर्पण गरे पितृ पक्षले मोक्ष पाउने धार्मिक विश्वास छ । सनातन धर्ममा तीर्थस्थलको ठूलो महत्व छ ।

तीर्थहरूमध्ये अति विशिष्ट तीर्थलाई धाम भनिने चलन छ । नेपालका चार धाम मुक्ति क्षेत्र, पशुपति क्षेत्र, रुरु क्षेत्र, बराह क्षेत्र भएतापनि ती मध्ये दुई धाम मुक्ति र रुरु क्षेत्रलाई विशेष रूपमा लिइन्छ । यस क्षेत्रमा माघेसङ्क्रान्ति बाहेक ठूलो एकादशी, प्रत्येक सङ्क्रान्ति, ग्रहण एकादशी, आँैंशी एकादशीमा कृष्ण गण्डकी सङ्गममा स्नान गरी ऋषिकेश भगवान्को दर्शन गर्न श्रद्धालु भक्तजनको ठूलो भिड लाग्ने हृषिकेश मन्दिरका पूजारी केशवराज भट्टराई बताए । उनले भारतको ऋषिकेश मन्दिर र नेपालको हृषिकेश मन्दिरमा कुन पुरानो भन्न नसकिएतापनि भगवान् ऋषिकेशको मूर्ति भने आफैैँं उत्पत्ति भएको बताए । यहाँ आएर स्नान र दर्शन कार्य सम्पन्न गरेमा देह पुण्य हुने, मुक्ति प्राप्त हुने विश्वास छ । यस क्षेत्रमा मृतकहरूको अस्तु सेलाउन पनि मानिसहरु आउने गर्दछन ।

जेठी संक्रान्ति, माहिली र कान्छी संक्रान्ति गरि तीन दिनसम्म लाग्ने रिडी मेला भर्नका लागि टाढा–टाढाका मानिसहरु आईतवार नै रिडीमा आएका थिए । यो पटक पनि विगतको भन्दा नदीमा स्नानगर्न आउने श्रद्धालुहरुको उपस्थिति निकै वाक्लो रहेको छ । यता धार्मिकसँगै रिडीमा सास्कृतिक तथा ब्यापारिक महोत्सव पनि सुरु भएको छ । हातैले तयार पारेका पाखी, वासवाट निर्मित सामग्री र ओखरका घाँजी, काठका सामग्री, ऊनीजन्य सामग्री ,रिडीको माघी मेलामा मेला हेर्न आउनेका लागि थप आकर्षणका वस्तुमा पर्दछन । त्यस्तै मेलाको अवसरमा रुरु क्षेत्रमा कृषि प्रर्दशनी पनि सुरु भएको छ । खासगरी रिडी मेलामा राडी, पाखी, ढक्की, कपडा–लत्ता, डोको, नाङ्लो बेच्न छिमेकी जिल्लाबाहेक बुटवल, भैरहवा, भारतको रूपेडियासमेतबाट व्यापारी आउने गरेका छन् ।

 

प्रकाशित मिति : २ माघ २०७४ मंगलबार ००:००  १ : ४९ बजे