२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

दोस्रो भालुवाङ महोत्सव शुरु



सन्तोषकुमार गुप्ता, भालुवाङ, २९ पुस ।
प्रतिनिधिसभा सांसद मेटमणि चौधरीले अब बन्ने बामगठबन्धनको स्थायी सरकारले कुनै पनि हालतमा भालुवाङबासीलाई लालपुर्जा दिलाएर छोड्ने बताउनु भएको छ । म लामो समय देखि भालुवाङबासीको लालपुर्जाको समस्याका बिषयमा आन्तरिक गृहकार्य गरिरहेको छु, अब पाँच बर्षका लागि बामगठबन्धनको स्थायी सरकार बन्छ र त्यही सरकारले नै नयाँ निति बनाएर भए पनि लालपुर्जा दिन्छ सांसद चौधरीले भन्नु भयो ।

शुक्रबार देउखुरीको भालुवाङमा आयोजित दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को उद्घाटन गर्दै सांसद चौधरीले यस्तो बताउनु भएको हो । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाबाट बिजय हुनुभएका सांसद चौधरीले भालुवाङबासीलाई लालपुर्जा दिलाउन नयाँ कानुन, निति वा कुनै बिधेयक बनाउनु परे पनि लालपुर्जा दिलाएर छोड्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका सांसद चौधरीले भन्नु भयो “तपाई भालुवाङबासी ढुक्क हुनुस् मैले के गर्नु पर्छ, कसलाई भन्नुपर्छ, जे—जे गरेर भए पनि लालपुर्जा दिलाएरै छोड्छु यो मेरो बचनबद्धता भयो, उहाँले भन्नु भयो ।” साथै सांसद चौधरीले अबको दुई बर्ष भित्र देउखुरीका सबै घरको छाना हटाएर टिन लगाईदिने बताउनु भयो ।

बर्षायाम घरमा पनि चुहिएर भोग्नुपर्ने कष्ट तथा घडेरीमौसममा बर्षेनी देउखुरी हुने आगलागी जस्ता समस्या अन्त्यका लागि आफू अबको दुई बर्ष भित्र घरको छाना हटाएर टिन लगाई छोड्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । त्यस्तै आफ्नो निर्वाचन क्षेत्रका सुत्केरी महिला दिदीबहिनीहरुलाई नगद १५ हजार सुत्केरी भत्ताको व्यवस्था गर्ने समेत बताउनु भयो । सांसद चौधरीले अब राप्तीनदी देउखुरीबासीका लागि अभिसाप नभई यसलाई टतबन्धन गरेर देउखुरीको एक टुरिजमका रुपमा विकास गर्ने समेत बताउनु भयो ।

“कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ शुरु भएको महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै पाँच नम्बर प्रदेशसभा सांसद इन्द्रजीत चौधरीले भालुवाङबासीलाई लालपुर्जा दिलाउने काम भाषणमा भने जस्तो र हामीले चाहे सजिलो नभएको बताउनु भएको छ । कार्यक्रमका बिशिष्ट अतिथी समेत रहनुभएका सांसद चौधरीले वन सम्बन्धी अन्तराष्ट्रिय मापदण्ड अनुसार कुल भु—भागको ४० प्रतिशत भु—भाग वन हुनुपर्ने नितिमा यसअघिका सरकारका जिम्मेवार मन्त्रीहरुले समेत हस्ताक्षण गरिसकेकोले अहिलेका लागि लालपुर्जाको बिषय जटिल बनेको बताउनु भयो । दाङ प्रतिनिधिसभा १ को १ बाट निर्वाचित हुनुभएका सांसद चौधरीले लालपुर्जाको समस्या भालुवाङको मात्र समस्या नभई सिंगो राष्ट्रिय समस्या भएको बताउँदै उहाँले त्यसका लागि स्थायी सरकार बन्नुपर्छ र त्यही सरकारले नै वन सम्बन्धी नयाँ निति बनाएर मात्र राष्ट्रिय वनको जग्गालाई व्यक्तिगत जग्गाको रुपमा परिवर्तन गर्न मिल्ने बताउनुभयो । हामी भालुबाङबासीलाई लालपुर्जा दिलाउनुपर्छ भन्नेमा नै छौं त्यसका लागि हामी निरन्तररुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा क्लबका अध्यक्ष भिमबहादुर मर्रासिनीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले भालुवाङ क्षेत्र हरेक दृष्टिकोणले विकासका लागि प्रबल सम्भावना हुँदाहुँदै पनि लालपुर्जा बिहिन भएकै कारण पछि परेको बताएका थिए । साथै उनीहरुले भालुवाङलाई प्रदेश नम्बर पाँचकै पर्यटनहवको रुपमा विकास गर्न सकिने भएकाले यस ठाउँको विकासका लागि जनप्रतिनिधिहरुको ठुलो भुमिका रहने समेत बताएका थिए । क्लबका सह—सचिव बिधानचन्द्र अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रदेश नम्बर पाँचकी समानुपातिक सांसद सरस्वती गौतम, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, नेकपा एमाले राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य होमप्रसाद शर्मा, राप्ती उद्योग बाणिज्य संंघका अध्यक्ष जगतप्रसाद पोख्रेल, भालुवाङ नगर विकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी, भालुवाङ होटल व्यवसाय समितिका अध्यक्ष महेश बेल्वासे, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, राप्ती अञ्चल सार्वजनिक यातायात बस व्यवसाय समितिका प्रशासनिक सचिव नारायण न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् महेशचन्द्र रिजाल, ऐरावती आर्दश बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल, आदर्श नमुना माविका प्रधानध्यापक बालाराम ज्ञवाली र क्लवका संस्थापक अध्यक्ष मुकुन्द रोका लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साथै महोत्सव उद्घाटनको दिन गायक चन्द्र शर्माले आफ्नो बेजोड प्रस्तुति दिनुभएको थियो, भने अन्य स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति राख्नुभएको थियो । महोत्सवको दोस्रो दिन भोली शनिबार चर्चित जनगायक जीवन शर्मा, गायिका प्रीति आले र करिश्मा मगर लगायत अन्य थुप्रै कलाकारहरुको प्रस्तुति रहने महोत्सवका निर्देशक बिराज बिष्टले जानकारी गराउनुभयो भने महोत्सवमा उपस्थितिका लागि सबैलाई आग्रह समेत गर्नुभयो ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा शुरु भएको महोत्सव माघ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी सहितको करिब दुई सय बढी स्टल रहेका छन् । महोत्सवमा पत्रकाहरुलाई समाचार सम्पेषण गर्न नेट तथा वाईफाईको समेत व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न जातजातिको झाँकी प्रर्दर्शन, बाल उद्यान रमाइलो मेला, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने, राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा ¥याप्टिङ मञ्च, मौतकाकुवा, चरखेपिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल र धरहरा लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर राप्ती आइडल प्रतियोगिता समेत हुने कार्यक्रम निर्देशक बिराज बिष्टले जानकारी दिएका छन् ।

क्लवको भवन निमार्णका लागि महोत्सवको आयोजना गरिएको महोत्सव एघार दिन सम्म सञ्चालन हुने बताईएको छ । महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिईएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ । एघार दिन सम्म संचालन हुने महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र दुई करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थी, अपाङग, जनआन्दोलनका घाइते तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा रु ४० शुल्क लाग्ने र दृष्टिविहिन, पूर्ण शारिरीक अपाङग र ७५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको महोत्सवका निर्देशक बिष्टले जानकारी दिएका छन् ।

त्यस्तै राप्ती आइडलमा प्रथमलाई नगद २० हजार र ३ वटा म्युजिक भिडियोमा खेल्ने अवसर दिइने छ भने दोस्रो हुनेलाई १५ हजार नगद र २ वटा म्युजिक भिडियोमा खेल्ने अवसर, तेस्रोलाई १० हजार नगद र १ वटा म्युजिक भिडियोमा खेल्ने अवसर दिइने र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था मिलाइएको महोत्सवका प्रेस संयोजक तथा पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०७४ शनिबार ००:००  ४ : ०८ बजे