८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गाउँतहको विकासमा २ करोड



पार्वती पाण्डे, कपिलवस्तु, २८ पुस ।
संघिय संरचना कार्यान्वयनसँगै अव गाउँतहमा विकास निमार्णले गति लिन थालेको छ । धुलाम्मे गाउँका सडकअब चिल्ला र राम्रा हुने छन । धुलो धुवाँको हैरानी खेपेका जनतालाई विकासे राहत मिल्ने छ । जनतालाई विकास गर्ने प्रतिवद्धता अनुरुप कार्य गर्न थालिएको वाणगंगा नगरपालिका वडा नं ५ का अध्यक्ष भिष्मराज भुषालले बताउनु भयो । नगरपालिकाद्धारा बिनियोजित करिब २ करोडको काम अगाडि बढाईएको उहाँको भनाई छ ।
योजना अनुसार काम शुरु भएको छ, उहाँले भन्नुभयो । योजना अनुसार अम्रैयादेखि नगर जोड्ने १ किलो मिटर पक्कि नाली सहित सडक पिच हुने छ । सिमलखोर तिनकुने देखि सिमलखोर गाउँ जोड्ने करिब ४ सय मिटर नयाँ सडक ग्राबेल हुने भएको छ । जसमा नाली समेत निर्माण हुने छ । खुटेनी देखि लोहरी बगिया हुदै बैकुन्ठपुर सम्मको ४ सय मिटर सडक कालो पत्रे हुने भएको छ । त्यस्तै सुपादेउराली मन्दिर देखि बैकुण्ठपुर सातमोहने सम्म ३ सय मिटर सडक कालो पत्रे , मटेरीया देखि मनहरापुर सम्म जोड्ने करिब ४ सय मिटर सडक पनि कालो पत्रे बन्ने छ ।
मधौली देखि मटेरिया हुदै सिमलखोर जोड्ने ५ सय मिटर सडक कालो पत्रे हुने छ । त्यस्तै गरि योजना अन्तरगत कोपवाको ठुलो पोखरी वाल निमार्ण एवं सुन्दरीकरण हुने छ । जसका लागि रु. १५ लाख बजेट छुट्याईएको छ । त्यस्तै प्रतिडाँडा, झण्डा , कोपवा गाउँ भित्रका सडक पनि कालो पत्रे हुने छन । योजनाहरुको काम शुरु भएको र समयमै सबै काम सम्पन्न हुने वडाअध्यक्ष भुषालले जनाउनु भयो ।
विकासका काममा स्थानिय पनि सक्रिय भई सुझाव सल्लाह दिनु पर्ने उहाँको भनाई छ । गाउँका सबै टोलमा विकास गरि सिंह दरबारको अधिकार गाउँतहमा जनतालाई अनुभुती गराउने प्रयासमा जुटेको उहाँ बताउनु हुन्छ । गाउँ तहमा विकासका काम अगाडि बढेकोमा गाउँलेहरु पनि खुशी भएका छन । गाउँको विकास सँगै विभिन्न रोजगारीका अवसरहरु प्राप्त हुने आशामा स्थानिय युवाहरु रहेका छन ।

 

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  २ : ४४ बजे