४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओली बैंकक गए, जाँदा जाँदै काठमाण्डौंमा के भने ?



काठमाडौं, २६ पुस ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आयोग र गोविन्द केसीप्रति पनि व्यंग्य गर्नुभएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफ्नो स्वास्थ्यमा खासै समस्या नभए पनि किड्नी ट्रान्सप्लान्ट गरेकाले डाक्टरको सल्लाहमा नै नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लाग्नुभएको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनमा देउवा सरकारले अलमल्याइरहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सानो देश भए पनि राजनीतिको परिवेशमा ठूला ठूला तरंगहरु आउने गरेको छ ।’

समानुपातिकतर्फको नतिजा आउन ढिलाई भएकोमा निर्वाचन आयोगप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, ‘तपाईँहरु सबैलाई सम्झना होला नि ! प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव भाको थियो । चुनाव भाको थियो जे का लागि त्यसलाई रोकेर राख्ने काम भएको छ । जनमतको अनादर गर्ने काम भएको छ ।’

उहाँले अहिलेको सरकार कामचलाउ भएको र उसले नगर्नु पर्ने काम गरेर सरकार गठनमा वाधा पुर्याएको पनि बताउनुभयो । अर्को प्रसंगमा पार्टी एकता निकट भविष्यमै हुने भएकाले यसमा शंका नगर्न उहाँको आग्रह थियो ।

 

 

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  ११ : ४८ बजे