४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

के के निर्णय भयो बामगठबन्धनको बैठकमा ? (निर्णय सहित)



काठमाडौँ, २५ पुस ।
नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रिय र प्रदेश सभा गठनका लागि कार्यदल बनाएको छ ।

दुई दलबीचको एकता संयोजन समिति बैठकमा तीनवटा एजेन्डामा छलफल भए पनि प्रदेश सभा गठन, मूख्यमन्त्री छनोट र प्रदेश सरकार निर्माणका लागि दुई दलका नेता सम्मिलित कार्यदल बनाउने निर्णय गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जानुअघि भएको दुई दलबीचको आजको बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठानिक संरचनाबारे छलफल भएको थियो ।

तर, पार्टी एकताका लागि संयुक्त कार्यदल बनाउने निर्णय गर्न दुई दल असफल भएका छन् । दुई दलले प्रदेश सभा गठन, मूख्यमन्त्री छनोट र प्रदेश सरकार निर्माणका लागि ६ सदस्यीय कार्यदल बनाएका हुन् । यो कार्यदलले सरकारसँग वार्ता पनि गर्ने भएको छ ।

‘आजको बैठकले प्रदेश सभाका लागि दुई दलका नेता सम्मिलित कार्यदल बनाउने निर्णय गरेको छ’, एमालेका उपाध्यक्ष वामदेव गौतमले भने, ‘पार्टी एकताबारे भने अध्यक्ष ओलीजी बैंकक पुगेर नफर्केसम्मका लागि होमवर्क गर्ने सहमति भएको छ ।’

पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा, प्रदेशसभा र प्रदेश सरकार गठनका लागि सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, बर्षमान पुन र मातृका यादवसहितको कार्यदल बनाएको एमाले उपाध्यक्ष गौतमले बताए ।

 

प्रकाशित मिति : २५ पुस २०७४ मंगलबार ००:००  ३ : ०८ बजे