कपिलवस्तु, २२ पुस ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ ।
हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको छ । रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर्णय गरिएको नगरपालिकाका नायब सुब्बा श्रीराम पाण्डेले जानकारी दिनुभयो ।
महाराजगञ्जमा अहिलेसम्म ८० प्रतिशतले आफ्नो घरमा शौचालय बनाइसकेको पाण्डेले बताउनुभयो । नगरपालिकाले स्थानीयले आफ्नो घरमा शौचालय बनाएपछि नगरपालिकाले एकमुष्ट रु एक हजार ५०० दिने भएको छ ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले सरसफाइको काम गर्दै आएको र महाराजगञ्ज नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र बनाउने पहलका साथ जुटेको छ । नगरपालिकाले विहिबार सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दै १५ दिनभित्र शौचालय निर्माण नभएमा नगरपालिका तथा वडाबाट पाउने सेवासुविधा रोक्का गर्ने निर्णय भएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका (वास) इकाइ संयोजक अनिल पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता र वडाबाट तथा नगरपालिकाबाट प्रदान हुने सबै सिफारिश रोक्का गर्ने भएको छ ।
प्रतिक्रिया