इरान, १९ पुस ।
इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार विरोधि प्रदर्शनका बारेमा पहिलोपटक बोल्दै प्रदर्शन स्वतस्फुर्त रुपमा नभइ इरानका शत्रुको उक्साहटका कारण भएको आरोप लगाउनुभएको हो ।
अमेरिकाले इरानमा भइरहेको प्रदर्शन पूर्णरुपमा स्वतस्फुर्त रहेको बताएको थियो । इरानका नेता खामेनीले भने अमेरिकाको भनाई पूर्णरुपमा बकवास रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले इरानमा भइरहेको प्रदर्शन स्वतस्फुर्त रहेको भनाईको जवाफमा खामेनीले जवाफ दिँदै प्रदर्शनमा शत्रुको हात रहेको भन्दै अमेरिका तर्फ संकेत गर्नुभएको हो ।
अमेरिकाले इरानको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक बोलाउने तयारी गरेको हेलीले जानकारी दिनुभएको छ । इरानमा गएको बिहीबारदेखि सुरु भएको प्रदर्शनको क्रममा अहिलेसम्म २२ जनाको ज्यान गइसकेको छ ।
इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो ।
इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००९ मा विवादित चुनाव पछि ठूलो प्रदर्शन भएको थियो । इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको बिबिसीले जनाएको छ । एजेन्सी
प्रतिक्रिया