८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

​रसुवामा दुई वर्षभित्र एकसय ६८ मेगावाट बिजुली उत्पादन हुने



रसुवा, पुस १२ । रसुवामा दुई वर्षभित्रमा एकसय ६८ मेगावाट बिजुली उत्पादन हुने भएको छ । जिल्लामा निर्माणाधिन ८ ओटा जलविद्युत आयोजनामध्ये दुई वर्षभित्र तीनओटा आयोजना सम्पन्न भएर एकसय ६८ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको छ ।

अहिले निर्माण भैरहेकामध्ये १ सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत आयोजना, १४।८ मेगावटको साञ्जेन माथिल्लो जलविद्युत आयोजना र ४२।५ मेगावट क्षमताको सान्जेन जलविद्युत आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ ।

जिल्लाको टिमुरेमा निर्माण भइरहेको रसुवागढीले २०७५ चैतसम्ममा निर्माण सकेर उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिसक्ने आयोजना प्रमुख छबि गैरेले बताउनुभयो । उहाँले भन्नुभयो, “२०१९ डिसेम्बरसम्ममा निर्माण सम्पन्न हुन्छ, २०२० मार्चदेखि उत्पादन सुरु हुने गरी काम भइरहेको छ ।”

२०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६० प्रतिशत काम सकिएको आयोजनाका वातावरण तथा जनसम्पर्क अधिकृत तेज साउदले बताउनुभयो ।
त्यसैगरी जिल्लाको चिलिमेमा निर्माण भइरहेका सान्जेन र सान्जेन माथिल्लोले २०७६ को अन्तिमसम्ममा निर्माणसक्ने गरी काम भइरहेका जनाएका छन् ।

अहिलेसम्म सान्जेन माथिल्लोको ६० प्रतिशत र सान्जेनको ४० प्रतिशत काम सकिएको आयोजनाका प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताउनुभयो ।
रेग्मीका अनुसार सिभिल ठेकेदार इसिआई बज्रगुरुले निर्माण गरिरहेको सान्जेन माथिल्लो आयोजना २०७५ माघसम्ममा निर्माण सम्पन्न गरिने छ । सन् २०१४ बाट निर्माण सुरु भएको १४।८ मेगावटको आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । सुरुङ निर्माण सकिएसँगै सुरुङको सर्पोटको काम भैरहेको आयोजनाले जनाएको छ । यो आयोजनाको भूमिगत सुरुङ एकहजार तीनसय मिटर रहेको छ ।

सान्जेन आयोजना चाहिँ डेढ वर्षमा पूरा हुने उहाँको भनाई छ । यो आयोजनाको सुरुङ मार्गको काम ५६।३३ प्रतिशत सकिएको आयोजनाको भनाई छ । ५ हजार २ सय ८४ मिटर सुरुङमध्ये दुई हजार नौ सय ७६ मिटर सुरुङ निर्माण भइसकेको छ । पावरहाउस र हेडवर्कसतर्फको कामले समेत तिव्रता पाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७४ बुधबार ००:००  ६ : २१ बजे