३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कृष्णनगरबाट उद्घोष, ‘राज्यले ऋण तिर्न कपिलवस्तुलाई राजधानी बनाउनुपर्छ’



सीताराम चौधरी, कृष्णनगर, ११ पुस ।
प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु नै हरेक दृष्टिकोणले उपयुक्त भएको नेताद्वय चन्द्रप्रकाश खनाल र बृजेशकुमार गुप्ताले तर्क राख्नुभएको छ ।
कपिलवस्तु पर्यटनको मात्र होइन ऐतिहासिक धरोहरको खुला संग्रहालय भएपनि राज्यबाट पछाडि पारिएको हुँदा राज्यले खाएको ऋण तिर्न प्रदेश राजधानी कपिलवस्तु बनाउनुपर्ने नेताद्वयले जोड दिनुभएको हो । कृष्णनगरका एमाले युवा नेता मिर्जा अरशद बेगले कृष्णनगरमा जिल्लाका बामगठबन्धनबाट बिजेता एवं उपबिचेता नेताहरुको स्वागत र सम्मान कार्यक्रममा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । जिल्लाभरका बिजेता तथा उपबिजेताहरुलाई एउटै थलोमा जमघट गराउन ठूलो भूमिका खेलेको भन्दै सबैले युवा नेता बेगको प्रशंसा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा बिजेता चन्द्रप्रकाश खनाल ‘बलदेव’ ले बहसको लागि मात्र होइन, कार्यान्वयनका लागि कपिलवस्तुलाई राजधानी बनाउनै पर्ने जिकिर गर्नुभयो । “त्यसका पछाडि हामीले फजुल तर्क गरिरहेका छैनौं । हुनुपर्छ भनेर हामीले अरुले बोलेजस्तो बिना आधार बोलेका पनि छैनौं ।” नेता बलदेवले भन्नुभयो– “कपिलवस्तु जिल्ला प्रदेश ५को मध्यबिन्दुमा पर्छ । ऐतिहासिक एवं पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला कपिलवस्तु हो ।” यसरी ऐतिहासिक प्रमाण र तर्कका आधारमा कपिलवस्तुलाई राजधानी बनाउन उपयुक्त रहेको नेता बलदेवले तर्क राख्नुभयो ।
कार्यक्रममै कपिलवस्तु क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी नेता बृजेशकुमार गुप्ताले ऐतिहासिक र भौगोलिक हिसाबले कपिलवस्तु राजधानीको लागि उपयुक्त स्थान रहेको तर्क राख्नुभयो । नेता गुप्ताले भन्नुभयो–“दाङ र बुटवलको तुलना होइन, तर दाङ किन?, बुटवल किन? कपिलवस्तु किन नाई ? यसको जवाफ खोज्न जरुरी छ ।” उहाँले थन्नुभयो– “नजिकै भैरहवामा अन्तर्राष्ट्रिय हवाई अड्डा छ । जिल्लासँगै सटेको भारतको बढ्नीमा रेलको बडीलाइन र सुक्खा बन्दरगाह बन्ने प्रवल सम्भावना छ । गौतमबुद्धभन्दा पनि पहिले कपिलवस्तुमा गणतन्त्रको गण राज्य रहेको इतिहासमा उल्लेख रहेको छ । कुतर्कले होइन, तथ्यपरक प्रमाण र तर्कका आधारमा कपिलवस्तुलाई राजधानी बनाउन आवश्यक छ ।”
कार्यक्रमका प्रमुख अतिथि रहेका नेता बलदेवले पर्यटनको प्रचुर सम्भावना बोकेको कपिलवस्तुलाई बढावा मात्र नभई यसलाई आमूल परिवर्तन गर्न सक्यौं भने मात्र जिल्लाको स्थितिमा सुधार हुने बताउनुभयो । कपिलवस्तुलाई समृद्ध जिल्ला बनाउन विकासको साझा अवधारणा तयार गरी अगाडि बढने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । यसका साथै यस जिल्लाका किसानको समस्यालाई मध्यनजर गर्दै सिंचाई, मलखाद लगायत टेक्टर, कम्बाइन मेसिनसम्म अनुदानको लागि पहल गर्ने नेता बलदेवले उद्घोष गर्नुभयो । आफूले बोलेको कुरा चुनावी नारा मात्र नभई सदनमा जोडदार कुरा उठाई कार्यान्वयन गराएरै छाड्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
यस्तै नेता गुप्ताले हुलाकी राजमार्ग जिल्लाको पहिलो आवश्यकता रहेको औल्याउनुभयो । कृष्णनगरसँगै सटेको छिमेकी देश भारतको बढनीमा सुक्खा बन्दरगाह बनेमा जिल्लाको विकासमा ठूलो टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । जिल्लाका ८५ प्रतिशत जनता कृषिमा आधारित रहेको बताउँदै उहाँले खेतीयोग्य जमिनलाई सिंचित गर्दै आधुनिक कृषि प्रणालीबाट खेती गर्ने व्यवस्था मिलाउन भरपूर पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमका बक्ताहरुले स्थिर सरकार र आर्थिक समृद्धिका लागि बामगठबन्धन एकतामा रुपान्तरण हुँदै सिंगो कम्यूनिष्ट आन्दोलनको नेतृत्व गरेर जाने बताए । समानुपातिकको कुरा टुंगिनसाथ सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने नेताहरुको भनाई थियो । नेताहरुले राष्ट्रिय राजनीतिले स्थिरता र मुलुकको आर्थिक विकासमा अगाडि बढने विश्वास व्यक्त गरे । जनताले दिएको अपार जनमतको कदर गर्दै, जनतालाई सम्मान गर्दै कपिलवस्तुबासीले दिएको जिम्मेवारीलाई पूरा गर्ने नेताहरुले प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा क्षेत्र नं. १(१) का प्रदेशसभा सदस्य विष्णु पन्थी, २(१) का प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेय, २(२) का सांसद धर्मबहादुर लाल श्रीवास्तव, ३(१) का सांसद अर्जुन केसी, प्रतिनिधि सभा ३ का उमेदवार ईश्वर दयाल मिश्र, प्रदेशसभाका उम्मेदवार फजलूर रहमान, जाबेद आलम खान लगायत बामगठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  २ : १७ बजे