३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रकाशको अभाव हुँदा प्रचण्डको सचिवालय यसरी चल्छ !



काठमाण्डौं, ११ पुस ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिका ‘हट केक’ हुन् । दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ । छोरा प्रकाशको कुशल व्यवस्थापनले उनको व्यस्त दैनिकी सहज बनाएको थियो । तर प्रकाशको निधनपछि अहिले उनको सचिवालयको सहज व्यवस्थापन चुनौतीपूर्ण भएको छ । प्रकाशको ‘अब्बल’ व्यवस्थापनमा उनी निस्फिक्री र ढुक्क थिए । आजको अन्नपूर्ण पोस्ट्मा रामकृष्ण अधिकारीले समाचार लेख्नुभएको छ ।

सचिवालयमा प्राविधिक, सांगठनिक र व्यवस्थापनमा अहिले उनलाई छोराकोे टड्कारो अभाव खट्किएको छ । पार्टी संगठन, दैनिक कार्यक्रमका अतिरिक्त दाहालले अहिले घर(परिवारलाई पनि बढी समय दिनु परिरहेको छ । अहिले उनको सचिवालयलाई ‘समय व्यवस्थापन’ गर्न सबैभन्दा धेरै कठिनाइ हुन थालेको छ ।

दाहालले प्रकाशको अभावमा आफ्नो सचिवालय हेर्ने गरी नयाँ व्यक्तिलाई नियुक्ति गर्ने सोचेका छन् तर त्यसको टुंगो लगाइसकेका छैनन् । खुमलटार स्रोतका अनुसार उनले राजनीतिक घटनाक्रम केही सहजतामा चल्नेबित्तिकै सचिवालय व्यवस्थित गर्ने योजना बनाएका छन् । पहिलो घेरा दाहालले अहिले पार्टी्भित्र सबैभन्दा बढी कृष्णबहादुर महराको विश्वास गर्छन् । पोस्टबहादुर बोगटीको निधनपछि उनले आफ्ना विश्वासपात्रका रूपमा महरालाई लिन थालेका हुन् ।

युद्धकालदेखि पार्टी टुटफुट, एकता सबैजसो उतारचढावमा अन्तिम अवस्थासम्म दाहाललाई महराले कहिल्यै साथ छोडेनन् । पार्टी भित्री र बाहिरी कुनै महत्वपूर्ण निर्णय लिनुपर्दा दाहालले एकाध घटनाबाहेक पहिलो छलफल महरासँगै गर्छन् । उनका लागि दाहालनिवास खुमलटारदेखि अन्य कार्यक्रम र छलफलमा कुनै रोकतोक छैन । उनले सहजै दाहालसँग जुनकुनै समयमा पनि पहुँच राख्छन् ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  १ : ४० बजे