३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय सार्वजनिक



सीताराम चौधरी, चन्द्रौटा, १० पुस ।
तेस्रो चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३ को आयव्यय सार्वजनिक गरिएको छ । गतवर्ष २०७३ मंसिर २ देखि १२ गतेसम्म संचालन भएको महोत्सवको आयव्यय व्यापार संघको हलमा आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा कूल ५९ लाख ७५ हजार ७ सय ७० रकम वरावरको आयव्याय प्रस्तुत गरिएको थियो । जसमध्ये महोत्सवमा ५५ लाख ८८ हजार ९ सय ४४ रुपैयाँ खर्च भएको आयोजक संस्थाले जानकारी दिएको छ । महोत्सव संचालनबाट ३ लाख ८६ हजार ८ सय २६ रुपैयाँ नाफा भएको महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले जानकारी दिनुभयो ।
“कृषि पर्यटन उद्योग व्यापार, आर्थिक समृद्धिको मुल आधार” मूल नारासहित संचालन भएको महोत्सवले कपिलवस्तुका पर्यटकीय औद्योगिक तथा कृषि क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुगेको पोख्रेलले विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा प्रतिटिकट १ रुपैयाँ बहादुरगञ्ज सर्पदंश उपचार केन्द्रलाई सहयोग गरिने पूर्व घोषणा बमोजिम कार्यक्रमका बीच एकमुष्ट ३० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
आयव्यय सार्वजनिक कार्यक्रमसँगै व्यापार संघ कपिलवस्तुले कपिलवस्तु क्षेत्र नं. ३ प्रदेशसभा १ का निर्वाचित प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.लाई सम्मान गरिएको थियो । सम्मानपछि कार्यक्रममा वोल्दै केसीले व्यापार संघले गतवर्ष लगाएको महोत्सवले यस क्षेत्रको विकास र प्रचारप्रसारमा सहयोग पुगेको वताउनुभयो । साथै उहाँले महोत्सवले यस क्षेत्रका कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धि बनाउने प्रयास गरेको जिकिर गर्नुभयो । महोत्सव लगाउने विषयमा विवादभन्दा पनि सम्पूर्ण संघसंस्थाहरु यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि महोत्सव लगाउन खुलेर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैबीच शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रको विकास, प्रवद्र्धन र पहिचानका लागि महोत्सव लगाउनुपर्नेमा जोड दिनुभयो । व्यापार संघले महोत्सव लगाएर सामाजिक क्षेत्रमा राम्रो काम गरेको भन्दै व्यापार संघ कपिलवस्तुलाई धन्यवाद दिनुभएको थियो । सर्पदंश उपचार केन्द्रका लागि महोत्सवले गरेको सहयोगले सर्वसाधारणले सेवा पाउने भन्दै प्रशंसनीय कार्य भएको उद्घोष गर्नुभयो । महोत्सवमा स्थानीय उत्पादनलाई बाह्यभन्दा बढी प्राथमिकत दिनुपर्ने नगरप्रमुख अधिकारीले सुझाव दिनुभयो ।

 

प्रकाशित मिति : १० पुस २०७४ सोमबार ००:००  ३ : २० बजे