१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उपत्यकाको तापक्रम दुई डिग्रीमा, अझै शून्य पुग्ने



रासस, शनिवार, १ पुस ।
तापक्रम घटेसँगै काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।
केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने
मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौँको तापक्रम माइनसमा झरेको थियो । शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ ।

दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम २ दशमलब ८ र अधिकतम २१ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस चार र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ । रासस

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  २ : २१ बजे