४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कैलालीमा ७७ उम्मेदवारको धरौटी जफत



कैलाली, पुस १ । कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ७७ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभा चुनावमा सहभागी ४३ जना उम्मेदवार मध्ये ३० जनाको जमानत जफत भएको छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रीय जनता पार्टी बाहेक सबै राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको हो ।

केही निर्वाचन क्षेत्रमा भने राष्ट्रीय जनता पार्टीको पनि जमानत जफत भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेससँगै कारागारबाटै उम्मेदवारी दर्ता गराउनुभएका राष्ट्रीय जनता पार्टीका लक्ष्मण चौधरीले पनि जमानत जोगाएका छन् । तर विवेकशील साझा पार्टी, राष्ट्रीय जनमोर्चा, संघीय समाजवादी फोरम, नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमुक्ती पार्टीले जमानत जोगाउन सकेका छैनन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा ७ जनाको जमानत जफत भएको छ । जसमा स्वतन्त्र उम्मेदवारी दिएका सञ्जीव भट्टराई, तिलकबहादुर भण्डारी, नेपाल मजदुर किसान पार्टी र नेपाल दलित पार्टीले भने एक सय मत पनि कटाउन सकेका छैनन् । कैलाली १ मा राष्ट्रिय जनता पार्टीको अप्रत्यासीत सफलताले धेरै दलहरुलाई जमानत जोगाउन मुश्किल पारेको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा पनि स्वतन्त्र उम्मेदवारी दिनुभएकी गीता राणा क्षेत्रीको पनि जमानत जफत भएको छ ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  ७ : ०४ बजे