दमौली, तनहुँ, ८ मंसिर (रासस) ।
यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि ६४ थान हतियार संकलन भएको छ ।
हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा ६४ थान भरुवा बन्दुक सहितका हतियार बुझाएका प्रहरीले जनाएको छ ।
कात्तिक मसान्तसम्ममा हतियार बुझाउन भनिए पनि बुझाउन ल्याउनेको हतियार यतिबेला पनि लिइरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।
“बुझाइएका हातहतियार चुनावपछि फिर्ता गरिनेछ”– उहाँले भन्नुभयो, “अटेर गरी हातहतियार नबुझाउने र शंका लागि खोजतलासका बेला भेटिए त्यस्ता व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने छ । ”
स्थानीय तहको चुनावमा तनहुँमा बुझाइएका ७१ थान हतियार चुनाव सकिएपछि प्रहरीले सम्बन्धित धनीलाई नै फिर्ता गरेको थियो ।
८ मंसिर २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया