९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

खुम्चिदै तराई केन्द्रित दल !



मायादेवी अनलाइन, कपिलवस्तु, २३ कार्तिक ।

दोस्रो संविधानसभाको निर्वाचन सम्म पहिलो दल बनेका तराई केन्द्रित दल कपिलवस्तुमा क्रमश खुम्चिदै गएका छन । आसन्न मंसिर २१ गते हुन गैरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्म आइपुग्दा तराई केन्द्रित दलको उपस्थिती कमजोर देखिएको छ । जिल्लाका थुप्रै नेताहरुले पार्टी छाडिसकेका छन । जिल्लाबाट केन्द्रिय स्तरमा राजनीतिक पहँुच राख्ने र जिल्ला स्तरका अधिकांश नेता अहिले बामगठबन्धन र कांग्रेसबाट चुनावी मैदानमा होमिएका छन । प्रदेश नम्बर २ मा राजपा नेपाल र संघिय समाजबादी फोरम नेपाल विच चुनावी तालमेल हुँदा समेत यहाँ चुनावी तालमेल हुन सकेको छैन ।
पञ्चायत काल देखि जिल्लाबाट सासंद जित्दै आएका बृजेश कुमार गुप्ता अहिले बामपंथी गठबन्धनबाट प्रतिनिधिसभा २ को उम्मेदवार बनेका छन । राजपा नेपालका केन्द्रिय सहमहामन्त्री समेत रहेका गुप्ता एमालेको सूर्य चिह्न लिएर अहिले चुनावी मैदानमा होमिएका हुन । उनि मंसिर २१ को निर्वाचन जसरी हुन्छ जितेर सासंद बन्ने तयारीमा छन । उनलाई राजपाका कयौँ जिल्ला स्तरका नेताले समर्थन गरिरहेका छन ।
संघिय समाजबादी फोरम नेपालका केन्द्रिय उपमहासचिव सम्म भएका अभिषेक प्रताप शाहले पनि पार्टी परित्याग गरि कांग्रेसबाट उम्मेदवार बन्ने अवसर पाएका छन । प्रतिनिधिसभा ३ बाट शाह चुनावी मैदानमा उत्रिएका छन । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा चुनाव जितेका शाह अहिले दलबलको साथ घरदैलो कार्यक्रममा व्यस्त छन ।
गुप्ता र शाह जस्तै जिल्लाका मधेसका प्रभावशाली नेता इश्वर दयाल मिश्रले पनि मधेसबादी दल त्यागि सकेका छन । बामपंथी गठबन्धनबाट प्रतिनिधिसभा ३ का उम्मेदवार बनेका उनि स्वतन्त्र समुहको नाममा एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन । उनि पनि अहिले प्रचारप्रसारमा व्यस्त छन ।
यस्तै मधेसी नेता मध्ये स्थापित नाम हो दान बहादुर चौधरी । नेता दान बहादुर पनि मधेसबादी दलमा छैनन । तत्कालिन समय फोरम लोकतान्त्रिकका केन्द्रिय उपाध्यक्ष समेत रहेका चौधरी अहिले निर्वाचन क्षेत्र नम्बर १ बाट नयाँ शक्तिबाट चुनावी मैदानमा होमिएका छन । उनले लोकतान्त्रिक फोरम एक बर्ष पहिले नै परित्याग गरिसकेका थिए ।
राजेन्द्र महतोको नेतृत्वमा रहेको सद्भावना पार्टीको केन्द्रिय सचिव हुँदै राजपाका केन्द्रिय सहमहामन्त्री समेत रहेका मिर्जा अरसद बेगले पनि राजपा पार्टी परित्याग गरेका छन् । उनी अहिले एमालेमा छन । यसैगरि मधेस केन्द्रित दलका जिल्ला स्तरका प्रभावशाली नेताहरु इस्रार अहमद मुसलमान, धर्मबहादुर लाल श्रीवास्तव, जगन्नाथ चौधरी, फैजल खाँ, नविन चौधरी, दिपक पाण्डे लगायतले पनि मधेसबादी दल त्यागी सकेका छन् ।
मधेसबादी दल धमाधम छाड्दै नेताहरु ठुला पार्टीमा प्रवेश गरेर टिकट पाएपछि दलको अतित्व जोगाउनका लागि भएपनि राजपा नेपाल र फोरम नेपालले उम्मेदवारी दिएर छन । राजपाले जिल्लाका तीन प्रतिनिधिसभा मध्ये २ र ३ मा मात्र उम्मेदवारी दिएको छ भने ६ प्रदेशसभा मध्ये ५ मा मात्र उम्मेदवारी दिएको छ । संघिय समाजबादी फोरम नेपालले तीन वटै प्रतिनिधिसभा र ६ ओटै प्रदेशसभामा उम्मेदवारी दिएको फोरमका नेता अब्दुल रसिद खाँले बताए ।
प्रदेशसभा दुईमा राजपा नेपाल र फोरम नेपाल विच चुनावी तालमेल भएपनि प्रदेश नम्बर ५ मा हुन सकेको छैन । नेताहरुको आपसीद्धन्द्धले तालमेल हुन नसकेको फोरम नेता खाँले बताए ।
उता राजपा नेपाल परित्याग गरेका इश्वर दयाल मिश्रले प्रदेश नम्बर दुईलाई मात्र मधेस ठानेको कारण पाँच नम्बर प्रदेशमा चुनावी गठबन्धन नभएको बताउँछन । ‘प्रदेश नम्बर २ मा मिलेर चुनाव लड्दा यहाँ किन नलड्ने उनले प्रश्न गरे, ‘नेताले हामीलाई हेर्ने नजर कस्तो छ यसले पनि थाहा पाइन्छ । ’

प्रकाशित मिति : २३ कार्तिक २०७४ बिहिबार ००:००  ४ : २४ बजे