३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

रुपन्देहीमा कांग्रेसले बागीलाई कारवाही थाल्यो, को को परे (नामावली सहित)



रुपन्देही, कात्तिक २२ ।
रुपन्देही कांग्रेसले जिल्लाका नेतासहित १८ जनालाई निष्कासित गरेको छ । जिल्ला सभापति अब्दुल रज्जाकले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि पार्टीले तय गरेका आधिकारीक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवार बनेका तथा उनीहरुका प्रस्तावक र समर्थकहरु गरी १८ जनालाई कारवाही गरिएको बताउनुभयो ।
रुपन्देही क्षेत्र नं. १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उहाँका प्रस्तावक खुमलाल गौतम र समर्थक निरबहादुर थापा, क्षेत्र नं. ३ को ‘क’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उहाँका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं. ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका डोलराज भुसाल तथा उहाँका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई कांग्रेसले निष्कासित गरेको छ ।
त्यस्तै क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका अमृतलाल भट्टराई र उहाँका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं. ४ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि विरेन्द्र कलवार उहाँका प्रस्तावक सीताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं. ५ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमेरिका कोहार तथा उहाँका प्रस्तावक कलामुद्धिन मुसलमान र समर्थक दिनेशचन्द्र बर्मालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिएको कांग्रेसले बताएको छ ।
चुनावमा पार्टीको तर्फबाट उम्मेदवार र लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारको विपक्षमा लाग्ने कार्यकर्ताहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने रुपन्देही कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ४ : ०३ बजे